बैशाख ३१, २०८१, सोमबार
               

कैलालीमा भारतीय सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरमा बिओपी स्थापना

रासस
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको  बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न पहल गरिएको छ ।

सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बिओपी स्थापनाको पहल भएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले भारतसँग जोडिएको धनगढीको पुण्टेघाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठाघाट, भजनी नगरपालिकाको हलौनाघाट, कालापातल र पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बिओपी स्थापना गर्न लागिएको बताइएको छ ।

कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल (एसएसबी) को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले  भने, ‘प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गर्नसकेमा सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न थप प्रभावकारी हुनेछ ।’ नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा ५०० जति बिओपी स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ । 

पछिल्ला महिनामा कैलाली जिल्लाको सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको जिकिर प्रहरी उपरीक्षक कुँवरले गरे ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि