केपी शर्मा ओलीले शुक्रुबार दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएपछि बैकठअघि दुवै पक्ष बैठक अघि आ-आफ्नो रणनीतिक धारणा बनाउन व्यस्त भएका छन्।
केही समयअघि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी र सरकार एकआपसमा समन्वय गरेर सञ्चालन गर्ने भनी भएको सहमति कार्यान्वयन नभएको भन्दै बहुमत सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित पत्र नै बुझाएपछि मात्र ओलीले बैठक बोलाएपछि आ-आफ्नो धारणा बनाउन उनीहरु छलफलमा जुटेका हुन् ।
बैठकको खास एजेण्डा नै पार्टीभित्रको आन्तरिक विवाद भएका कारण दुवै पक्ष आ-आफ्नो रणनीति बनाइ एक अर्काको प्रतिरक्षा गर्ने रणनीतिका साथ उनीहरु अघि बढेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायत असन्तुष्ट सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएको भन्दै असन्तुष्ट छन् ।
२६ भदौको पार्टी स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि दाहाल-नेपालसहितका बहुमत सचिवालय सदस्यहरूले अब कसरी प्रस्तुत हुने भनेर छलफल तीव्र पारेका छन् ।
अध्यक्ष दाहालसहितका सचिवालय सदस्यहरु पार्टी निर्देशनविपरित ओली अघि बढिरहेकाले उनीविरूद्ध बहुमतमा निर्णय गरेर अघि बढ्ने तयारीमा रहेको बुझिएको छ । यसका अलवा उनीहरुले बहुमतमा निर्णय भए पार्टी नै फुट्नेसम्मको चेतावनीबारे प्रष्ट मनसाय बुझेर अघि बढ्ने तयारी गरेको बुझिएको छ ।
त्यसैगरी, ओली पक्ष भने पार्टीको काममा केन्द्रित हुने पर्ने दाहालले स-साना नियुक्ति र सरकारी काममा पनि हस्तक्षेप गरेको ठहर गर्दै पार्टी र सरकार सञ्चालनमा दुई अध्यक्षको कार्यादेश प्रष्ट हुने गरी प्रष्ट कार्यविभाजन गरी अघि बढ्नु पर्ने विषय छलफलमा लान लागेको छ ।