काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले प्रधानमन्त्रीसमक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् ।
नेकपामा पछिल्लो राजनीतिक व्यवस्थापनका लागि भन्दै शुक्रबार र शनिबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बसी प्रचण्डसँगै बालुवाटार पुगेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सो माग गरेका हुन् ।
पार्टी प्रवक्ता श्रेष्ठका अनुसार शनिबार प्रधानमन्त्रीसँग भएको भेटमा तत्काल बैठक बस्न माग गरिएको छ । साथै, सचिवालय सदस्यसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बैठकबाट नभागेको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले बैठक बाेलाउन आग्रह गर्दै प्रधानमन्त्रीसँग लिखित आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर बैठकमा प्रधानमन्त्री बैठक बोलाउन राजी नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले बैठक बोलाउने बारे केही बोल्नुभएको छैन ।’