काठमाडौं । शनिबार चार बजेका लागि बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
शुक्रबार बिहान अध्यक्षद्वयबीच भएको सहमति अनुसार बस्ने भनिएको सो बैठक अध्यक्ष दाहालको व्यस्तताका कारण स्थगित भएको बताइएको छ ।
बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र विवाद बढ्ने आशंका बढिरहेका बेला बोलाइएको सो बैठक एकाएक स्थगित भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच नेकपामा स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका छलफल जारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूत, मुख्यसचिवलगायत राजनीतिक नियुक्त गरेपछि नेकपाभित्र विवाद भुसको आगोझै सल्कँदै गइरहेको छ ।
प्रधानमन्त्रीले गरेको राजनीतिक नियुक्तिको विषयलाई लिएर अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्टि पोख्दै आएका छन् ।