काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएसँगै शनिबार नेकपा सचिवालय बैठक बस्ने भएको हो । बैठक शनिबार अपराहृन चार बजे बस्ने भनिए पनि समय अझै निर्धारण भइनसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
राजदूत सिफारिस गरेको र एउटै व्यक्तिले पटकपटक राजनीतिक नियुक्त पाइरहेको भन्दै नेकपाका सचिवालय सदस्यले नै असन्तुष्टि सार्वजनिक भइरहेका छन् ।
सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्दै डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।त्यसैगरी, मन्त्रिपरिषद बैठकले निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो ।
यो नियुक्तिसँगै नेकपमा विवाद उब्जिने सम्भावना बढेका बेला बोलाइएको सो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको म्यानडेटलाई छाडेको बताउँदै आएका छन् ।
पार्टी एकीकरणपश्चात् पहिलोपटक पूर्वमाओवादी पार्टी कार्यालयमा बसेको बैठकले सरकारले गर्ने महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीले पार्टीको निर्णयअनुसार गर्ने र पार्टीको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्हालने सहमति भएको थियो ।