बैशाख १७, २०८१, सोमबार
               

निषेधको राजनीतिले कसैको हित हुँदैन : पूर्वराजा
कोरोनाका कारण पूर्वराजाले जन्मदिन उत्सवका रूपमा नमनाउने

नेपाल फ्ल्यास
असार १०, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको संक्रमणबाट मुलुक अप्ठेरो परेकोले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने भएका छन् ।

पूर्वराजाको सचिवालयले आज बुधवार सन्देश जारी गर्दै त्यसबारे जानकारी गराएको हो । 

पूर्वराजाको सन्देशमा भनिएको छ- 'विषम अवस्थालाई दृष्टिगत गरी मैले आफ्नो जन्मदिन उत्सवका लागि नमनाउने निर्णय गरेको छु ।'

पूर्वराजाले निषेध र प्रतिशोधको भावनाले कसैको हित नहुने जनाएका छन् । 'आजको यो कालखण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हुँदैन । नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो ।' सन्देशमा भनिएको छ- 'त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्दछ । राष्ट्रियता नै मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतीतबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।'

पूर्वराजाले मुलुकमा व्याप्त भ्रष्टाचार, भेदभावलगायतप्रति पनि असन्तुष्टि जनाएका छन् । नागरिक सडकमा उत्रने अवस्था सिर्जना हुनु विचारणीय भएको उनले जनाएका छन् ।

पूर्वराजा शाहले बदलिँदो विश्व व्यवस्थालाई बुझेर आफ्नै प्रकृति, रीति–संस्कृति र पद्धतितिर फर्कन जरुरी रहेको समेत बताएका छन् । 'बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति संस्कृति र पद्धतितिर फर्कन जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्बनको परिपाटी फेरि कायम हुन्छ' विज्ञप्तिमा भनिएको छ, 'केही दशक अघिसम्म आफ्नै गौरव गाथा मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शीर फेरि ठाडो पार्नु परेको छ ।'

विविध बाध्यताका कारण विदेशबाट फर्किएका नेपाली युवाको श्रम, सिप र सामर्थ्यको सदुपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउन उनले आग्रहसमेत गरेका छन् ।

ज्ञानेन्द्रको जन्म २००४ असार २३ गते भएको थियो । पूर्वराजाको जन्मदिन यसअघि उत्सवका रुपमा मनाउने गरिएको थियो ।

हेर्नुस् पूर्वराजाको सन्देश


कस्तो लाग्यो ?

यो पनि