काठमाडौं । प्रतिनिधि सभा बैठकमा आफ्नो संशोधन प्रस्ताव अस्वीकार भएपछि समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठकबाट बाहिरिइन् ।
संसद बाहिर सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताइन् ।
आफूले संशोधन प्रस्ताव राखेपछि धेरै फोहोरो गालीगलौजको सामना गरेको समेत उल्लेख गरिन् ।
उनले भनिन्, 'म महिलाको रूपमा बोल्दैछु, या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो । महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ ।'
'राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो ?' गिरीले भनिन्, 'किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्यो । महिलाहरूले निर्माण गर्नुभयो ।'
उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षमाथि आक्रमण भएको टिप्पणी गरिन् ।
'जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ । त्यसमा हामी बेलमै सचेत भएनौं भने यसको परिणाम मुलुकको राष्ट्रिय एकताका र राष्ट्रियताका लागि हुँदैन', सांसद गिरीले भनिन् ।