बैशाख २६, २०८१, बुधबार
               

प्रविधिबाट जोडिँदै राप्रपा नेताहरू

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौँ । नेताहरूको के काम हुन्छ ? सत्तामा हुँदा राजकाजमै व्यस्त । बाहिर रहँदा राजनीतिक समीक्षा र जोडघटाउमा तल्लीन । तर लकडाउनका कारण धेरैजसो नेताहरू यतिबेला घरभित्रै 'कैद' भएका छन् । लकडाउन लम्बिँदै गएपछि उनीहरूले नेता तथा कार्यकर्तासँग जोडिने उपाय पनि खोज्न थालेका छन् ।

राप्रपा नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले अनलाइनमार्फत नेता तथा कार्यकर्तासँग सम्वाद सुरु गरेका छन् । यो अवधिमा नेता र कार्यकर्ताबीच सूचना आदानप्रदान र राजनीतिक समीक्षा गर्न फेसबुकमार्फत ग्रुप बनाएर सम्वाद थालिएको हो ।

लकडाउनमा पनि व्यस्त रहन र जीवनलाई रचनात्मक र सकारात्मक बनाउन यस्तो अभियान सुरु गरिएको राप्रपा केन्द्रीय सदस्य किरण गिरीले बताए ।

वार्ताका लागि फेसबुक मेसेन्जर ग्रुपमा 'लोकतान्त्रिक संवाद समूह' बनाइएको छ । त्यहाँ व्यक्तिगत स्वास्थ्थ अवस्था, आफू, परिवार र समाजदेखि देशको राजनीतिक तथा सामाजिक विषयबस्तुमा सूचना तथा धारणाहरूको आदान प्रदान हुने छ । हरेक दिन बिहान ११ बजे देखि सवा घण्टा संवाद हुने जनाइएको छ ।

संवाद समूहमा हाल पूर्वमन्त्री थापासहित अर्का पूर्वमन्त्री विष्णुविक्रम थापा, राप्रपा केन्द्रीय नेताहरू रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, किरण गिरी, मोहन दाहाल, रामशरण पाठक, चन्द्र घुन्टे गुरुङ, इनु अधिकारी, धर्मराज जोशी, अरुण शर्मालगायत छन् । यो ग्रुपमा इच्छुक राप्रपाका नेताहरू थपिँदै जाने पूर्वमन्त्री सुनिलबहादुर थापाले जानकारी दिए ।

दुई दिनयता भएको संवादमा कोरोना भाइरसविरुद्ध अपनाउनु पर्ने साबधानी, सरकारको कामकारवाही, राप्रपा संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाप्रति श्रध्दाञ्जलीमा केन्द्रित भएको थियो ।

 

 

यो पनि