बैशाख २०, २०८१, बिहीबार
               

आर्थिक उत्थानको विशेष कार्यक्रम ल्याउन अध्यक्ष थापाको माग

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको भन्दै आर्थिक सुधारको योजना ल्याउन माग गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै अध्यक्ष थापाले निश्चित आय भएका वर्ग, साना-मझौला उद्योग र सङ्गठित आधुनिक आर्थिक क्षेत्रको उत्थानका निमित्त सरकारले विशेष नीति र कार्यक्रम ल्याउनु अनिवार्य रहेको जनाएका हुन् । उनले महामारी सकिएपछि त्यसबारे  सोचौँला भनेर नबसी अहिलेदेखि नै गृहकार्य सुरु गर्न सरकारलाई सुझाव दिएका छन् ।

हेर्नुस् अध्यक्ष थापाको शुभकामना सन्देश

कोरोना भाइरसको अप्रत्याशित महामारीबाट अहिले सम्पूर्ण विश्व आक्रान्त बनेको छ। हामी नेपालीहरू पनि उक्त भाइरस विरुद्ध लड्ने क्रममा लकडाउनअन्तर्गत घरभित्रै बन्दाबन्दीको अवस्थामा छौँ ।

यसैबिच हामी बि.सं २०७७ को नयाँ वर्ष हाम्रो घर संघारमा आइपुगेको छ। दुःख, पीडा र अन्योलपूर्ण घडीकै बीचमा पनि नयाँ वर्षको अवसरमा म देश विदेशमा रहेका सबै नेपालीहरूको परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको मङ्गलमय कामना गर्दछु ।

मानव जातिमा अन्तर्निहित अभूतपूर्व ज्ञान विज्ञानको क्षमतालाई चुनौती दिँदै देखा परेको कोभिड-१९ लाई पराजित गरी मानव जातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न २०७७ निश्चय पनि सफल हुनेछ ।

हामी नेपालीहरूको चाहना अनुरूप सुशासन र आर्थिक सम्बृद्धिको लक्ष्य हासिल गर्ने सन्दर्भमा नयाँ वर्ष कोसेढुंगा बन्न सकोस् भन्ने शुभ कामना समेत व्यक्त गर्दछु । रोग,भोक, गरिबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने अभियानले बि.सं २०७७ मा ऐतिहासिक सफलता प्राप्त होस्।

आजसम्म आम नेपाली जनताले लकडाउनको अवधिमा प्रदर्शित गरेको धैर्यता, आत्मसंयम र स्व-अनुशासनको परिणाम स्वरूप कोरोना भाइरसको महामारीले भयावह रूप लिन सकेको छैन। तर, खतरा अझै टरेको छैन । विश्वका विभिन्न देशहरू र खास गरी छिमेकी भारत र चीनको अनुभवबाट पाठ सिकेर हामी निरन्तर सजग रहनु जरुरी छ।

साधन श्रोत सम्पन्न विकसित देशहरूले समेत कोरोना भाइरसविरुद्ध लड्न कठिन सङ्घर्ष खेप्नुपरिरहेको अवस्थामा नेपाल जस्तो साधन श्रोत कम भएको र कमजोर व्यवस्थापन क्षमता भएको देशले लकडाउनको कठोर पालनाबाट मात्र भाइरसको प्रकोपलाई पराजित गर्न सक्दछ । यो यथार्थलाई आत्मसात् गर्न म सबैमा अपिल गर्दछु ।

कोरोना भाइरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई गम्भीर प्रभाव पार्ने निश्चित छ । निश्चित आय भएका वर्ग, साना मझौला उद्योग र सङ्गठित आधुनिक आर्थिक क्षेत्रको उत्थानका निमित्त सरकारले विशेष नीति र कार्यक्रम ल्याउनु अनिवार्य छ । त्यसर्थ, महामारी सकिएपछि त्यसबारे सोचौँला भन्ने होइन, अहिले देखि नै त्यसतर्फ गृहकार्य सुरु गर्नुपर्दछ ।

भारतीय सीमा क्षेत्रमा शरणार्थी भएर बसेका नेपालीहरूलाई आवश्यक परीक्षण र क्वारेन्टाइन व्यवस्था गरी घर फर्काउनेबारे सरकारले पुनर्विचार गरोस् भन्ने आग्रह गर्दछु । तर, कोरोना महामारी अन्त नभएसम्म भारतसँगको सीमा बन्द गर्न र आवश्यक नियमन गर्न समेत सरकारको ध्यानाकर्षण गर्दछु ।

अन्तमा, नयाँ वर्ष २०७७   प्रजातन्त्रको सुदृढीकरण, राष्ट्रियताको संवर्द्धन र देशको सर्वाङ्गीण आर्थिक विकासको वर्ष बन्न सकोस् । धन्यवाद

 

कमल थापा

अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

 

यो पनि