बैशाख २०, २०८१, बिहीबार
               

नेकपाका नेताहरूबीच ‘साइबर वार’
सामाजिक दुरीसँगै बढ्यो मनको दुरी

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड-१९) का कारण सिङ्गो विश्वसँगै नेपाल महामारीको दुश्चक्रमा फसिरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिम्मेवार नेताहरू भने साइबर–वारमा भूलेका छन् ।

एका पक्ष सरकारको कटु आलोचनामा छन् भने अर्का पक्ष प्रतिरक्षा गर्दै भिडिरहेका छन् । सामाजिक दुरी कायम राख्ने ‘लकडाउन’ जति लम्बिँदै छ, सामाजिक सञ्जालका भित्ताहरू हेर्ने हो भने प्रमुख दलका जिम्मेवार नेताबीचको मनको दुरी उत्तिकै बढ्दै गएको देखिन्छ । 

यस्तो विषम परिस्थितिमा मानवीय  हिसाबले पनि जो कोही सामाजिक सामाजिक दुरी बढाउने लकडाउन प्रभावकारी बनाउने र अलपत्र परेकाहरूलाई सहयोग गर्नुपर्ने तथा उद्धार र राहतमा खटिनुपर्ने हो ।

तर विडम्बना उनीहरू सामाजिक सञ्जालमा सरकारको उछित्तो काढ्न र बचाउमा सिँगारी खेल्नमै समय खर्चिरहेका छन् । आ–आफैबीचको ‘साइबर वार’ त कायमै छ, विपक्षी र मिडियामाथि समेत नेकपाका केही नेता–कार्यकर्ताको हमला जारी छ ।

पछिल्लो पटक कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले चीनबाट ओम्नी बिजनेस कम्पनीमार्फत खरिद गरेको स्वास्थ्य सामग्रीको गुणस्तरमै प्रश्न उठेपछि  साइबर विवाद सुरु भएको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल नै अनियमितताको विवादमा मुछिएपछि असन्तुष्ट आएको हो । मन्त्री निकटका नेताहरू असन्तुष्टिलाई स्विकार्दै बचाउमा लागेपछि सरकारी कदमको बचाउ र आलोचनामा  साइबर वार बढेको हो । 

नेकपामा पूर्वमाओवादी र पूर्व एमालेबीच सामाजिक सञ्जालमा लडाई देखिन्छ । यससँगै पूर्व एमाले पङतिमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जुहारी चलेको छ ।

नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पूर्व संञ्चारमन्त्री गोकुल बास्कोटा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, केन्द्रीय सदस्यहरू विष्णु रिजाल, रामकुमारी झाँक्री, ठाकुर गैरेलगायत नेताहरू लगातार एक आपसमा आक्रमणमा छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा, पूर्वसंञ्चारमन्त्री बास्कोटालगायत केही नेता भने विपक्षी र मिडियामाथि समेत जाईलागेका छन् ।

पाटीभित्र ‘साइबर वार’ नरोकिएपछि  शीर्ष नेताहरूबीच अब घनिभूत छलफलको खाँचो महसुस हुन थालेको छ । मङ्गलवार बस्ने सचिवालय बैठकमा समेत यस विषयमा छलफल हुने देखिएको छ ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफूले बैठक राख्न माग गरेको भन्दै ट्विट गरेका थिए । ‘हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु । दुवै अध्यक्ष कमरेडलाई अनुरोध गरेको छु, आवश्यक पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ ।

आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ । त्यसैले शीघ्र बैठक बस्ने विश्वास छ, बस्नपर्छ ’ श्रेष्ठले ट्विटमा भनेका छन् ।

पयर्टनमन्त्री योगेश भट्टराईले अहिलेको सङ्कटको घडीमा त्यस्ता अभिव्यक्ति दिने दुवै पक्षलाई सजग गराएका छन् । ‘यो सङ्कटकालीन र विशेष अवस्था हो, यो आम चुनावको प्रचार अभियान होइन । जहाँ एउटा पार्टीले अर्को पार्टीका विरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका विरुद्ध आरोप र प्रत्यारोपझैँ सञ्चारमाध्यममा छरपस्ट नहोऔँ,’ भट्टराईले पार्टीभित्रको अन्तर विरोध मिडिया र सामाजिक सञ्जालमार्फत छरपस्ट नपार्न आग्रह गर्दै भनेका छन्, ‘यो पार्टीभित्रका मत–मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने वेला होइन । पार्टीको महाधिवेशन घोषणा भएको छैन । समयलाई पर्खौँ ।’

मन्त्री भट्टराईको अभिव्यक्तिले पनि स्वास्थ्य सामग्री खरिद प्रकरणलाई लिएर नेकपाका नेताहरूकै बीचमा विवाद भुसको आगोजस्तै सल्किँदै गएको प्रस्ट सङ्केत गरेको छ । 

स्थायी समिति सदस्य जनार्दन शर्माले समस्या र गल्ती सच्याएर थप विवादास्पद र आत्मघाती निर्णय हुनबाट रोक्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत शनिवार सरकार र पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अहिलेको अवस्थामा ‘केपी ओलीको विकल्प केपी ओली’ नै हुने भन्दै कडा ट्विट गरेका छन् । ट्विटमा भनिएको छ, ‘कान तातेमा र आँखा तिरमिराएमा आँखा लडाउनुहुन । सविनय अनुरोध गर्दै केपी ओलीको विकल्प केपी ओली मात्र हुन् भन्छु । कोही कसैका लागि अहिले जारी दौडधुप कोरोनाबाट बच्न मात्र काम लाग्छ । चीनलाई हेरौँ न, राजनीतिक स्थिरताले कति दरो राज्य प्रणाली बन्छ ।’ 


कस्तो लाग्यो ?

यो पनि