जेठ ०८, २०८१, मंगलबार
               

देउवाको प्रश्न: अनियमितताको अनुसन्धानमा ढिलाइ किन ?

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीका ढिलाइ गरिएकोप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले उक्त प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गरी र ढाकछोप गर्ने प्रयत्न भइरहेको भन्दै आफूले यस बिषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

यस्तै सो प्ररणबारे समाचार लेख्ने र बोल्नेलाई हतोत्साहित गर्न खोजिएको देउवाको आरोप छ ।

'अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने कार्य गरेको छ', देउवाले भनेका छन्, 'अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन ।'

ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई देउवाले आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'लकडाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ । अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ ।'

काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक भएको उनको भनाइ छ । 

देउवाले दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

यो पनि