बैशाख १७, २०८१, सोमबार
               

पूर्वराजाद्वारा कोरोना नियन्त्रण कोषमा दुई करोड सहयोग

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारी कोषमा दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

पूर्वराजाको सचिवालयले मंगलबार वक्तव्य जारी गर्दै त्यसबारे जानकारी गराएको हो । पूर्वराजाले हिमानी ट्रष्टमार्फत सरकारलाई सो सहयोग दिने भएका हुन् ।

पूर्वराजपरिवारकै संलग्नतामा खुलेको सामाजिक संस्था हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिने सचिवालयद्वारा जारी वक्तव्यमा भनिएको छ । कोरोना सङ्क्रमण विश्वभर फैलिरहँदा नेपाल पनि त्यसको जोखिममा छ ।

पूर्वराजाले महामारीको बेला कर्मथलोमा खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी तथा सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार प्रकट गरेका छन् ।

पूर्वराजाले महामारीले देश र जनतामा सन्त्रास पैदा गरेको जनाउँदै सरकारले गरेको लकडाउन बाध्यात्मक अनिवार्यता भनेका छन् । उनले यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरेका छन् ।

उनले कोरोना सङ्क्रमणले सिङ्गो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको जनाएका छन् । पूर्वराजाले 'मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति सम्बेदनशील हुँदै सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भइसकेको छ' भनेका छन् ।

पूर्वराजाको वक्तव्यको पूर्णपाठ :

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश:

विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति सम्वेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भै सकेको छ ।

यो अवस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।

महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सन्चारकर्मी एवम् पत्रकारहरूप्रति हामी आभारी छौँ ।

आम नेपाली दाजुभाइ तथा दिदी बहिनीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि यसविरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्काउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौँ ।

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढङ्गमा मानवीय सेवा सहयोगमा काम भइरहेको बेलामा यसको प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौँ । दुख-कष्ट र आपत्-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौँ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौँ ।

भगवान् श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्,

जय नेपाल ।


कस्तो लाग्यो ?

यो पनि