जेठ ०४, २०८१, शुक्रबार
               

सभापति देउवालाई महामन्त्री कोइरालाको आग्रह

रासस
चैत ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको नवलपरासी (पश्चिम) को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् । 

सभापति देउवाले नवलपरासी पश्चिममा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै उक्त पत्र लेखेका हुन् । 

मुलुकको संघीय संरचनाअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा कांग्रेसले नवलपरासी पश्चिममा रिक्त रहेको जिल्ला सभापतिको जिम्मेवारी साविक नवलपरासी जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको थियो ।

सभापति देउवाले यही फागुन २३ गते विधानबमोजिम भन्दै नवलपरासी पश्चिमको जिल्ला सभापतिमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकेका थिए । 

महामन्त्री कोइरालाले भने पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि सम्बन्धित तहको अधिवेशन र महाधिवेशन तोकिएको अवस्थामा पोखरेललाई हटाई पौडेललाई जिम्मेवारी दिने कार्य विधान प्रतिकूल रहेको उल्लेख गरेका छन् ।

साथै, उनले नवलपरासी पश्चिम जिल्ला विधानको व्यवस्थाबमोजिम पोखरेललाई कार्यवाहक सभापति रहेको समितिलाई नै यथावत कायम राख्न अनुरोधसमेत गरेका छन् । 

साथै, महामन्त्री कोइरालाले सहमति बिना विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीमा केही साथीलाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिनेतर्फ पनि सभापतिको ध्यानाकर्षण गराएका छन् ।

नेतृत्वबाट एकांकीरूपमा हुने यस्ता निर्णयले पार्टीको १४औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीररुपमा प्रभावित हुने महामन्त्री कोइरालाले उल्लेख गरेका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि