जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबारे काँग्रेसको १४ बुँदे अपिल

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौँ । विश्वकै खतरा बन्दै गएको कोरोना भाइरस संक्रमणबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले १४ बुँदे अपिल जारी गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो अपिल गरेका हुन् । कोरोना भाइरसबारे सतर्कता अनिवार्य रहेको भन्दै काँग्रेसले समस्त नेपालीको ऐक्यबद्ध दृढताका लागि अपिल गरेको हो । 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अभिव्यक्ति हास्यास्पद र गैरजिम्मेवार भएको आरोप लगाए । ठुला र राष्ट्रहरूसमेत कोरोनासँग जुध्न सङ्घर्षरत रहेको बेला छिमेकीहरूको प्रबन्धले हामी ढुक्क छौँ भन्ने अभिव्यक्ति प्रति उनले आपत्ति जनाए ।

यस्तो छ १४ बुँदे अपिल

१. विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी  गरियोस् ।

२. कोरोना सङ्क्रमित मुलुकहरूको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रूपले तत्काल रोक लगाइयोस् ।

३. संक्रमण फैलिएका मुलुकहरूसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाइयोस् ।

४. फागुन १९, सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तर्राष्ट्रिय«य विमानस्थलको चेकजाँचको प्रक्रिया बिलकुलै कामचलाउ प्रकृतिको फितलो देखिनु अत्यन्तै दुःखद र आपत्तिजनक छ। प्रवेशद्वारमा कठोर ढङ्गको कडाइ गरिएन, तर भाषणका मञ्चबाट सतर्कताको अपिल मात्रै जारी गरियो भने स्थिति भयावह हुन सक्दछ। सरकार यो गम्भीरताप्रति व्यवहारत गम्भीर बनोस् ।

५. स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खास गरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्बाध प्रवेश जारी छ। ती नाकाहरूमा पनि तत्काल कडाइ सुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गरियोस् ।

६. केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढङ्गले अघि बढाइयोस् ।

७. संक्रमण भए नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ मा परीक्षण ‘कीट’ को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरालाई समयमै ध्यान पुर्‍याइ आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाइयोस् ।

८. संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीहरुले जोखिमपूर्ण ढङ्गले उपचार र उद्दारमा समर्पित हुनुपर्ने स्थिति आउन सक्छ । त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणहरूको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीहरुलाई विशेष ढङ्गको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस् ।

९. सङ्क्रमणको खतराले नागरिकमा खास गरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पुर्‍याइयोस् ।

१०. N 95 मास्क पर्याप्त प्रबन्ध गर्न सरकारको ध्यान पुगोस् ।

११. संक्रमण भित्रिएर फैलिएका खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न सङ्कट हुनसक्नेतर्फ समयमै सरकारको सतर्कता पुगोस् ।

१२. चीनको वुहान सहरबाट १८० नेपालीलाई उद्धार गरेर ल्याउन दुई साता लामो छलफल, अन्योल र विवाद भएको स्मृति गर्दै दुई थप सतर्कता सरकारलाई गराउँदछौँ ।

(क) ठुलो सङ्ख्यामा नेपालीहरू रहेको दक्षिण कोरियालगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढङ्गले फैलिएको छ। त्यस्तो देशमा रहेका नेपालीलाई सङ्क्रमणबाट सुरक्षित गर्न र अत्यावश्यक परे उद्धार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ,  तत्काल विमर्श गरियोस् ।

(ख) वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौँ क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा विषय प्रवेश गरोस् ।

१३. कोरोना सङ्क्रमणबाट पूर्व सतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमहरूको समुचित प्रयोग गर्ने कार्यमा सरकारले विशेष ध्यान पुर्‍याओस् ।

१४. ठुला र समृद्ध राष्ट्रहरूसमेत कोरोनासँग जुध्न सङ्घर्षरत रहेको बेला छिमेकीहरूको प्रबन्धले हामी ढुक्क छौँ भन्ने प्रकृतिको हास्यास्पद एवं गैह्रजिम्मेवार अभिव्यक्ति र व्यवहार हाम्रा लागि महँगो पर्न सक्दछ । सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर बन्न सरकारलाई अन्तरिम आदेश जारी गरिसकेको छ । अतः जोखिम सामना गर्न कुनै पनि ढङ्गको कमजोरी र सम्झौता नगर्न नेपाली काँग्रेस नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि अपिल गर्दछ ।

यो पनि