बैशाख १७, २०८१, सोमबार
               

संविधान संशोधनको तयारीप्रति राप्रपा संयुक्तको आपत्ति

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

काठमाडौँ । राप्रपा संयुक्तले सत्तासीन नेकपाले संविधान संशोधनको तयारीप्रति आपत्ति जनाएको छ ।

राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिसम्मेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै एक व्यक्तिका लागि संविधान संशोधन गर्न खोजिएबाट सरकार स्वयं संविधान ध्वस्त पार्न लागेको स्पष्ट भएको जनाएका हुन् ।

उनीहरुले तराई मधेसमा दर्जनौँ नागरिकले सहादत प्राप्त गर्द पनि संविधान संशोधनका पक्षमा सामान्य छलफलसमेत नगरेको आरोप लगाउँदै एक व्यक्तिका लागि संविधान संशोधन नालायकी र प्रजातन्त्र विरोधी भएको टिप्पणी गरेका छन् ।

सत्तासीन नेकपाले उपाध्यक्ष बामदेव गौतमका लागि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान स‌ंशोधनको तयारी गरेको थियो । तर सो तयारी नेकपाभित्रै विवादमा परेको छ ।

त्यसैगरी राप्रपा संयुक्तले पूर्वसंचारमन्त्री गोकुल बास्कोटा इतिहासकै ठूलो भ्रष्टाचार प्रकरणमा मुछिएकोले त्यसको छानबिन गरी दोषीलाई हदैसम्मको सजाय गर्न माग गरेको छ । उसले त्यस प्रकरणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको जोसुकैको चरित्र र अनुहार पर्दाभित्र नलुकाउन माग पनि गरेको छ ।

अध्यक्षद्वय राणा र लोहनीले कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई बचाउन पर्याप्त सतर्कता र तयारीमा गम्भीरता देखाउन सरकारलाई आग्रह गरेका छन् । त्यसविरुद्ध लडन सक्ने जनशक्ति एवं उपकरण तथा सामग्रीहरुको बन्दोबस्त गर्न उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् । 
 

यो पनि