बैशाख २४, २०८१, सोमबार
               

बागमती प्रदेशसभामा प्रधानमन्त्रीको राजीनामा माग, सत्तापक्षबाट बाँस्कोटाको बचाउ

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

बागमती प्रदेशसभामा प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् । 

प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले सेक्युरिटी प्रेसकाण्डको विषयलाई निकाल्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । 
आइतबारको प्रदेशसभामा विशेष समय लिएर नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले संस्थागत भ्रष्टाचारमा सरकार लागिपरेको आरोप लगाए । भने, ‘सरकारकै अग्रसतामा भ्रष्टाचार भएको छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।’

श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार पूर्वाग्राही ढंगले अगाडि बढेको समेत बताए। 

सरकारले अख्तियारलाई संवैधानिक आयोगभन्दा पनि आफ्नो छायामा पारेको उनको आरोप थियो । 

यस्तै, कांग्रेसकै प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीबाटै सेक्युरिटी प्रेसकाण्डको छानबिन सुरु गर्नुपर्ने बताए । ‘प्रधानमन्त्रीको सल्लाहविना यति ठूलो काण्ड हुनै सक्दैन,’ वैद्यले भने । 

त्यसैगरी विवेकशील दलका  रमेश पौड्यालले नैतिकताका आधारमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा दिनु मजाक भएको भन्दै अनैतिकताको राजीनामा कस्तो हुने भन्दै सरकारसँग प्रश्‍न गरे।  ‘नैतिकता प्रश्‍नको सियो प्रधानमन्त्रीतर्फ तेर्सिएको छ,’ उनले भने । 

त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेले सरकार काण्डै काण्डमा अल्झिएको भन्दै निर्वतमान मन्त्री बाँस्कोटामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग राखिन् । 

सरकारले बजेट खर्च गर्न नसकेको आरोपसमेत उनले लगाइन् । 

यसैगरी राप्रपा संयुक्तकी प्रदेशसभा सदस्य रीना गुरुङले बाँस्कोटा प्रकरण जस्तै काण्ड बागमती प्रदेशमा देख्न नपरोस् भन्दै बागमती प्रदेश सरकार पनि पारदर्शी हुनुपर्ने बताइन्। 

फरक प्रसंग झिक्दै उनले मन्त्रिपरिषद् विस्तार भए पनि महिला मन्त्री हुन नसकेको भन्दै खेद् प्रकट गरिन्। 

तर बागमती प्रदेशसभाका सत्तापक्ष प्रदेशसभा सदस्यले घुमाउरो शैलीमा निवर्तमान मन्त्री बाँस्कोटाको बचाउ गरेका छन् । 

नेकपा सधैं भष्टाचारीको विरोधमा भएको भन्दै नेकपा सांसद दीपक निरौलाले तथ्यको आधारमा   बोल्नुपर्ने बताए । 
बाँस्कोटाको बचाउ गर्दै उनले भने, ‘तथ्य र प्रमाण छ÷छैन त्यो अनुसन्धानको विषय हो, आवाज निकाल्ने प्रशस्तै कलाकार हुन्छन ।,’

यस्तै, नेकपाका सांसद केशवराज पाण्डेले गल्ती गरे जो सुकैलाई सरकारले कारबाही गर्नु पर्ने बताए। तर, उनले सार्वजनिक लेखा समिति पनि छानबिनको दायरामा आउनु पर्ने बताउँदै निर्वतमान मन्त्री बाँस्कोटाले नैतिकता देखाएर निष्पक्ष छानबिनको लागि राजीनामा दिएको भन्दै इतिहास रचेकोले धन्यवाद दिनुपर्ने बताए। 

आइतबार प्रदेश लोकसेवा ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रदेश मामिला समितिका सुभापति माधवप्रसाद पौडेलले पेस गरेसँगै भोलि ३ बजेसम्मको लागि स्थगित भएको छ।

यो पनि