बैशाख १३, २०८१, बिहीबार
               

एनआरएनए सचिवमा डा. बस्नेतको उम्मेदवारी घोषणा

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

दक्षिण कोरियामा रहेका सफल बैज्ञानिक एवं समाजसेवी डा. देवीबहादुर बस्नेत गैरआवासीय नेपाली संघको आसन्न विश्व सम्मेलनमा सचिवको उम्मेदवारी घोषणा गरेका छन् ।

स्मार्ट र सवल एनआरएनए र परोपकारी तथा लगानीमैत्री एनआरएनएलगायतका ६ बुँदे प्रतिबद्धतासहित बस्नेतले कोरियाबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएलाई दिगो, साझा र दोस्रो पुस्ताको बनाउन चाहेको बताएका छन् ।

संखुवासभा जन्मिएका डा. बस्नेतको परिवार मोरङ सरेको थियो । उनले विद्यालय शिक्षादेखि आइएससी तथा बिएससी मोरङकै महेन्द्र बहुमुखी क्याम्पसबाट  पुरा गरे । 

त्रिभुवन विश्वविद्यालयबाट जैविक रसायन विज्ञानमा क्यान्सर निको पार्ने केमिकलको बारेमा अनुसन्धान गरेर स्नातकोत्तरको अध्ययन पुरा गरेका डा. बस्नेतले दक्षिण कोरियास्थित सनमुन विश्वविद्यालयबाट एन्टिवायोटिक उत्पादन गर्ने ब्याक्टेरियाको जिनहरूको पहिचानमा अनुसन्धान गरेर विद्यावारिधि प्राप्त गरेका हुन् ।

त्यसलगत्तै अनुसन्धानकर्ताको रूपमा कोरियाकै प्रतिष्ठित ईवा वोमनस विश्वविद्यालयमा कार्यरत रहँदै एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सोध पत्रहरू प्रकाशित गरिसकेका डा. बस्नेत हाल दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी मेडिटोक्स कोरियामा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत छन् ।

बस्नेत करिब १५ वर्षदेखि विभिन्न सामाजिक क्षेत्रमा संलग्न छन् । नेपाली समाज तथा नेपाल विकासमा आवश्यक ऊर्जा थप्ने कार्यमा समर्पित डा. बस्नेत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कोरियाको संस्थापक उपसभापतिको रूपमा कोरियामा एनआरएन अभियानको सुरुवात गर्ने मध्ये एक हुन् ।

पछि एनआरएनए कोरियामा महासचिव भई कार्यभार कुशलतापूर्वक पूरा गरेका डा. बस्नेतले तीन कार्यकाल संरक्षकको भूमिका पनि निभाइसकेका छन् । बुद्ध नेपाल अभियानको (कोरियाबाट सुरु भएको अभियानमा “बुद्ध वर्न इन नेपाल”को नाराबाट अगाडि बढेको थियो, अन्य देशहरूमा समेत यसको प्रभाव पारेको थियो) उनी प्रमुख संयोजकमध्ये एक थिए भने एनआरएनए कोरियाले विभिन्न समयमा गर्ने लगानी सेमिनार, माइग्रेंटहरूका लागि परामर्श कार्यक्रमहरूको पनि संयोजन गर्ने गरेका डा. बस्नेत कोरियामा नेपाली माझ सामाजिक सेवामा सक्रिय छन् l 

तीनपटक एनआरएनए आइसीसी सदस्य रहेका डा. बस्नेत समग्र एनआरएनए अभियानमा सक्रिय भएर लागिरहेका छन् । डा. बस्नेतले एनआरएनएको विभिन्न टस्क फोर्समा (जस्तै Skill Knowledge Innovation (SKI), CAARFC) मा रही सफलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् l

गत वर्ष २०२० मा एसिया प्यासिफिक ज्ञान सम्मेलनको संयोजक भई उनले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेका थिए । उनी पहिलो र दोस्रो विश्व विज्ञ सम्मेलनमा सञ्चालन समितिको सदस्य रहेका थिए । डा. बस्नेत कोरियामा अरू संस्थामार्फत पनि सामाजिक कार्यमा उत्तिकै सक्रिय छन् । नेपालमा भूकम्पबाट प्रभावित ६ ओटा विद्यालय पुनर्निर्माणको लागि नेपाली विद्यार्थी समाज कोरियाको पहलमा समितिको संयोजक भएर उनले सो जिम्मेवारी पूरा गरेका थिए ।

बस्नेतले आफ्नो उम्मेदवारीसँगै तलका ६ वटा प्रतिबद्धता व्यक्त गरेका छन् :

१. स्मार्ट र सबल एनआरएनए (Smart and Strong NRNA)

२. साझा एनआरएनए (Common NRNA)

३. लगानीमैत्री एनआरएनए (Investment friendly NRNA)

४. परोपकारी एन आरएनए (Philanthropic NRNA) 

५. दोस्रो पुस्ताको एनआरएनए (Second generation oriented NRNA)

६. दिगो एनआरएनए (Sustainable NRNA)


कस्तो लाग्यो ?

यो पनि