विराटनगर । कोरोनाका कारण प्रदेश -१ मा थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र विराटनगरमा तीनको मृत्यु भएको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिइन् । उपचारका लागि उनी मंगलबार विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना भएकी थिइन् । त्यसैगरी, विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
विराटनगरका पुरुषलाई पिसिआर परीक्षण गर्दा उनमा असोज २१मा कोरोना पोजेटिभ देखिएको थियो । सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप रोगबाट पीडित थिए ।
त्यसैगरी, पछिल्लो २४ घन्टामा धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको छ ।
एकै दिन आठजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १२१ पुगेको छ ।