बैशाख २४, २०८१, सोमबार
               

रोग लुकाउन खोज्दा मृत्युदर बढ्यो

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ ।

सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ । बिहीबार र शुक्रबार मृत्यु भएकामध्ये रत्ननगरका पुरुषको कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल दैनिक एक/दुई वटा यस्ता बिरामी आउने गरेको बताउछन् । बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार गर्न कठिन हुने गरेको उनको भनाइ छ । 

अस्पतालको अकस्मिक कक्षका विभागीय प्रमुख डा जगन्नाथ तिवारी अन्तिम समयमा अस्पताल ल्याउँदा मृत्यु बढेको बताउछन् “बिरामी अस्पताल आउँदा रक्तचाप र अक्सिजनको मात्रा कम भएर आउँछन् । केही गर्न नपाउँदै मृत्यु हुन्छ ।” कतिपयको बाटोमै र कतिपयको उपचार सुरु गर्न नपाउँदै मृत्यु हुने गरेको उनको भनाइ छ, “श्वास लिन गाह्रो भयो भन्दाभन्दै बिरामीको मृत्यु हुने गरेको छ ।” अस्पतालमा सघन उपचार कक्षको श्यया अभावको कारणले पनि बिरामीहरूको उपचार गर्न कठिन भएको विभागीय प्रमुख डा तिवारीको भनाइ छ । समुदायमा कोरोना फैलिएसँगै यसरी बिरामी आउने क्रम बढेको हो । उनका अनुसार बिरामीले सहनसक्ने अवस्थासम्म घरमा नै बस्ने र अति कठिन भएपछि मात्रै अस्पताल आउने भएका कारण उपचार असम्भव हुने गरेको छ । 

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका स्थानीयवासी अस्पताल जान नै डराउने गरेका छन् । सामान्य रोग लागेका बिरामीहरू अस्पतालमा जाने गरेका छैनन् । कतिपयले सामान्य भन्दै घरमा बस्दा पछि जटिल समस्या आउने गरेको छ । कतिपयलाई कोरोनाको लक्षण देखिए पनि समाजको डर र अस्पताल गए पनि केही हुँदैन भन्ने भ्रमका कारण घरमै बस्दा पछि समस्या जटिल बन्ने गरेको पाइएको छ । 

भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेल जटिल भएपछि मात्रै अस्पताल आउने क्रम बढ्दा समस्या भएको बताउछन्, “सिटामोलले एक/दुई दिनमा ठीक नभएमा ज्वरोका बिरामी अस्पताल आउनुपर्छ ।” मानिसहरूलाई समस्या भएजस्तो नदेखिने तर अकस्मात श्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको उनको भनाइ छ । रुघाखोकी, ज्वरो, दम भएका बिरामीले नियमित रुपमा अक्सिजनको मात्रा हेर्नु पर्ने उनको सुझाव छ, “ज्वरो आएपछि अस्पताल जाँदा कोरोना भन्छन् कि भन्ने डरले घरमै रोग पालेर बस्ने क्रम बढी छ ।” 

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अन्तिम अवस्थामा उपचारका लागि आउने क्रम बढेको बताउछन् । समयमा उपचार गर्न नआउँदा समस्या हुने गरेको उनको भनाइ छ । उनले भने, “सकेसम्म घरमा नै उपचार गर्न चाहने बढी छन् । जसले गर्दा जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन् ।” सामान्य अवस्थाबाहेक समस्या देखिएमा अस्पताल आउन उनको सुझाव छ । 

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी अन्तिम अवस्थामा अस्पताल आइपुग्दा बिरामीको मृत्यु बढेको बताउछन् । रुघाखोकी र सयभन्दा बढी ज्वरो आएमा अस्पताल जान उनको सुझाव छ, “कोरोना भएमा अरूले के भन्लान् भनेर पनि अस्पताल आउन डराएको अवस्था छ ।” अस्पतालहरूले सकेसम्म सुरक्षाको मापदण्ड अपनाएर उपचार गरिरहेकाले रोग पालेर घरमा नबस्न उनको आग्रह छ । 

कतिपय बाटोमै मृत्यु हुनेहरूको कोरोना परीक्षणसमेत नगरी परिवारले शवको व्यवस्थापन गर्ने गरेका छन् । अस्पतालमा आई पुगेर मृत्यु भएकाको भने स्वाब परीक्षण गर्ने गरिएको छ । यसरी मृत्यु भएका कतिपयको परिवारले अस्पतालबाट स्वाब परीक्षण नगरी शव घर लैजाने गरेका छन् । यही भदौ १४ गते यस्तै प्रकृतिका तीन जनाको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनीहरू तीनै जनाको कोरोना पोजेटिभ देखिएको थियो । 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले घरमा रोग पालेर नबस्न सबैमा आग्रह गरे । सामान्य समस्यामा अस्पताल आउन नपरे पनि टेलिफोन लगायतका माध्यमबाट चिकित्सकसँग परामर्श गर्न सकिने उनको भनाइ छ । जिल्लाका सरकारी र निजी अस्पतालले सहकार्य गरेर आएका बिरामीलाई उपचार व्यवस्था गरिएको छ । केही दिनअघि उपचार नपाएर मृत्यु भएको घटनापछि स्थानीय प्रशासनले अस्पतालहरूलाई समन्वय गरेर उपचार गर्न निर्देशन दिएको थियो । भरतपुर अस्पतालका अध्यक्ष डा अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक समितिले उपचार नपाउने अवस्था आउन नदिनका लागि काम गरिरहेको छ ।

यो पनि