बैशाख २७, २०८१, बिहीबार
               

लकडाउन हटेको एक महिना : संक्रमण र मृत्युदर उच्च (तथ्यांकसहित)

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र संक्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल संक्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ । 

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा गरेका थिए । त्यसपछिकाे एक महिनाकाे तथ्यांकअनुसार संक्रमण र मृत्युदर उच्च रहेकाे हाे । पछिल्लो एक महिनाले विगतका सबै महिनाको भन्दा संक्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ । स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।

सन् २०१९  डिसेम्बर ३१ मा चीनको उहानमा देखिएको कोभिड-१९ नेपालमा विसं २०७६ माघ ९ गते त्यहीँबाट आएका एक नेपालीमा देखा परेको थियो । त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका दोस्रो नेपालीमा देखिएको थियो । त्यसपछि संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । क्रमशः संक्रमण वृद्धि हुँदै वैशाख अन्तिम सातादेखि तीन अङ्कमा संक्रमण देखिन थालेको थियो । 
असारमा केही कमी देखिएपछि सरकारले चार महिना लामो बन्दाबन्दीलाई साउन ६ गतेदेखि अन्त्य गरेको थियो ।  बन्दाबन्दी अन्त्य भएर गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिसहरू विनासावधानी घुलमिल भए । त्यसैको परिणाम अहिले देखिन थालेको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ संक्रमित भेटिएका छन् ।

प्राप्त तथ्याङ्क विश्लेषण गर्दा साउनअघि भएको कुल मुत्युभन्दा पछिल्लो एक महिनामै ३ गुणा बढीले मानिसको मृत्यु भएको छ । साउन ६ गतेसम्म कोभिड-१९ संक्रमित ४२ जनाको मृत्यु भएको थियो । साउन ६ देखि भदौ ६ सम्म एक महिनाका अवधिमा मात्रै १०४ जनाले ज्यान गुमाए । शनिबारसम्म संक्रमितमध्ये १४६ को मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही महिनामा संक्रमण दर पनि उच्च भएको छ । अन्य महिनाको कुल संक्रमितभन्दा एकै महिनामा दोब्बरले संक्रमित थपिएका छन् । त्यसदिन कुल १७ हजार ९९४ संक्रमित रहेकामा मन्त्रालयले एक महिनापछि सोही दिन अर्थात् भदौ ६ गते सार्वजनिक गरेको विवरणमा कुल संक्रमित १३ हजार १२६ थपिएर ३१ हजार ११७ जना पुगेका छन् ।

साउन ६  कुल १५० नयाँ संक्रमित भेटिएका थिए भने  भदौ ६ गते नयाँ संक्रमित ६३४ जना भेटिए । त्यसबेला काठमाडौं उपत्यकामा नगण्य संक्रमित रहेकामा अहिले दैनिक १५० देखि २०० को हाराहारीमा नयाँ बिरामी भेटिँदै आएका छन् । त्यसमा पनि ८० देखि ९० प्रतिशत काठमाडौं जिल्लाका छन् ।

अघिल्लो महिना साउन ६ गते सक्रिय संक्रमित पाँच हजार ४७७ रहेकामा एक महिनापछि सोही दिन सक्रिय संक्रमित १२ हजार ६२९ रहेको विवरणमा उल्लेख छ । प्राप्त विवरणले बन्दाबन्दी हटाइएपछिको संक्रमणले नसोचेको गति लिँदैछ । बन्दाबन्दी हटाइएपछि मानिसले कोभिड-१९ सर्न सक्छ भन्ने ख्यालै नगरी लापरवाही गर्दा जोखिम उच्च रुपमा वृद्धि भइरहेको विपद् जोखिम व्यवस्थापनविज्ञ कृष्ण देवकोटा बताउछन् । उनले नागरिक आफैँले उच्च सावधानी अपनाउनुपर्ने र स्वास्थ्य मापदण्डलाई पूर्ण कार्यान्वयन नगर्ने हो भने स्थिति भयावह हुने चेतावनी दिए । 

बन्दाबन्दी हटाइए पनि कोभिड-१९  संक्रमण केही घटे पनि रोकिएको थिएन । त्यसबेला सीमित मात्रै परीक्षण गरिएको थियो । बन्द खुल्यो भनेपछि सबै क्षेत्र चलायमान भयो । सीमा क्षेत्रमा अलि बढी संक्रमण थियो । त्यहाँका मानिसहरू हरेक क्षेत्रमा खुला रुपमा पुगे र भारतबाट आएका मानिससमेत जिल्ला जिल्लामा भित्रिए । यसबाट संक्रमण बढ्न सहयोग गरेको देवकोटा बताउछन् ।

स्वास्थ्य  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम यो समय सकेसम्म घरबाटै ननिस्कने र अत्यावश्यक कामका लागि निस्किएमा पनि भीडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने र  दुई मीटरभन्दा बढीको भौतिक दूरी कायम गर्ने गर्दा संक्रमणबाट जोगिन सक्ने बताउछन् । 

मुलुकभर नै संक्रमण बढ्न थालेपछि अहिले जिल्लाजिल्लामा निषेध आदेश जारी गरिएको छ । अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ जसका कारण आधा मुलुक नै ठप्प हुन पुगेको छ ।  सरकारले निषेध आदेश जारी गरे पनि सर्वसाधरणले स्वास्थ्य मापदण्ड ख्याल नगर्ने हो भने स्थिति जटिल हुनेतर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन् । 

यो पनि