बैशाख २४, २०८१, सोमबार
               

बालुवाटारबाटै सरकार चलाउँदै ओली, सिंहदरबार नजाँदा राज्य संयन्त्र सुस्त

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

मुलुकको बागडोर सम्हाले अड्डा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो । मुलुकको सबैभन्दा ठूलो कार्यकारी व्यक्ति प्रधानमन्त्रीको धपेडीमा हुनुपर्ने हो । तर, अहिले प्रधानमन्त्री कार्यालय भने सुनसान छ। प्रधानमन्त्री छ न त धपेडीमै छन्, राज्य सञ्चालनको प्राथमिकताभन्दा ज्यादा आफ्नो गुट गतिविधिमा । 

प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारस्थित कार्यालय जान छाडेको १० महिना भयो । उनले बालुवाटारबाटै सरकार चलाइरहेका छन् । २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई प्रधानमन्त्री ओलीले कार्यालयको एक्सनरुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनले सिंहदरबार टेकेका छैनन् ।

२०७६ फागुन २२ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली दुई पटकमात्रै सिंहदरबार गए । सुरुवाती दिनमा विरलै बालुवाटारबाट बाहिरी निस्किए पनि उनी पछिल्लो सयम दैनिकजसो बाहिर व्यस्त छन् । तर, उनी सिंहदरबार जाँदैनन् । सिंहदरबारकै मुलगेट हुँदै उनी अरू ठाउँमा गइरहेका हुन्छन् ।

गत पुस ५ गते संसद् विघटन भएपछि भने प्रधानमन्त्री ओलीको सक्रियता ह्वात्तै बढेको छ । यो बिचमा प्रधानमन्त्री ओली कात्तिक २६ गते सङ्खुवासभा र मङ्सिर ८ गते इलाम पुगेका थिए । त्यपछी पुस २४ गते धनगढी र दाङको विशाल सभामा सहभागी माघ १२ गते  पुगे ।

सार्वजनिक कार्यक्रममा बाहिर ननिस्किएका प्रधानमन्त्री ओलीले त्यसअघि संसद् विघटन लगतै काठमाडौँ व्यस्त थिए । संसद् विघटनकै साता दुईपटक बबरमहल कार्की पार्टी प्यालेसमा गएर लामो कमेडी मिश्रित भाषण गरे । त्यस्तै, प्रज्ञा भवनको सार्वजनिक कार्यक्रममा पनि उनी पटकपटक देखा पर्दै आएका छन् ।

१० महिनादेखि सिंहदरबारसमेत नगएका प्रधानमन्त्री ओली देश दौडाहामा छन् । उनी कुनै विकास निर्माणको उद्घाटन तथा शिलान्यास गर्न, वा अनुगमनका लागि देश दौडाहामा छैनन् । आफूले चालेको असंवैधानिक कदमको बचाउ गर्न र आफ्ना पूर्वसहकर्मीविरुद्ध भाषण गर्नकै लागि मात्रै उनी विभिन्न ठाउँमा गइरहेका छन् । आफूलाई मन लाग्दा सबैतिर जानसक्ने प्रधानमन्त्री ओलीले प्रशासनिक केन्द्र सिंहदरबार जान मन भने गरेका छैनन् ।

पश्चिमको धनगढीदेखि पूर्वको इलाम र सङ्खुवासभासम्म पुगेका प्रधानमन्त्री ओली बालुवाटार देखी साँढे २ किमि पर सिंहदरबार किन गएनन् ? मिर्गौला प्रत्यारोपणै राजनीतिक गतिविधिमा सक्रिय उनी यति धेरै सक्रिय हुँदा पनि सिंहदरबार किन टेकेनन्, त्यो धेरैको चासोको विषय बनेको छ।

मन्त्रिपरिषद्का बैठकदेखि सामान्य किसिमका प्रशासनिक निर्णय बालुवाटारबाटै हुने गरेका छन् । नियमितरूपमा ब्रिफिङ लिने र निर्देशन दिने प्रधानमन्त्रीको काम नै लामो समयदेखि अवरुद्धजस्तै छ । प्रधानमन्त्रीले नै समय नदिँदा यो वर्ष मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतासमेत हुन सकेन ।

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न बनाइएको एक्सनरुममा सधैँजसो ताला लाग्ने गरेको छ । केही महत्त्वपूर्ण ऐनका मस्यौदा अलपत्र परेका छन् । सुधारसम्बन्धी कार्ययोजनाको अवस्था पनि त्यस्तै छ । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका ओली गत चैत्रअघि निक्कै कम सिंहदरबार पुग्थे । 

सिंहदरबार नजाँदैमा फरक पर्दैन

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ भने सिंहदरबार प्रधानमन्त्रीको कार्यालय रहे पनि त्यहाँबाट हुने सबै काम बालुवाटारबाटै भइरहेको बताउँछन् । प्रधानमन्त्रीका नियमित कामकाज, मन्त्रिपरिषद्को बैठकलगायत गतिविधि नियमित भइरहेकाले उनी सिंहदरबार नजाँदैमा फरक नपरेको मन्त्री गुरुङको तर्क छ । उनी भन्छन्, ‘प्रधानमन्त्रीले कामै नगरेको, मन्त्रिपरिषद् बैठक नै नबसेको भए पो प्रश्न गर्ने हो, जहाँबाट काम काम गर्न सहज हुन्छ, त्यहीँबाट काम गर्दा फरक पर्दैन ।’ 

प्रधानमन्त्रीको सचिवालयका अनुसार भने स्वास्थ्य अवस्थाका कारण सिंहदरबार नगएका हुन् । गत चैत २ गते प्रधानमन्त्री ओली सिंहदरबार गएका थिए । कारण थियो सार्क राष्ट्रहरूबिच कोरोनाभाइरसको कसरी सामना गर्नेबारे भिडिओ कन्फरेन्सका लागि । यद्यपि भिडियो कन्फिडेन्स प्रविधि बालुवाटारमै थियो भने उनी सिंहदरबारसम्म जाने थिएनन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उहाँको स्वास्थ्य अवस्था लगायतका कारण उहाँ सिंहदरबारमा नजानुभएको हो । हरेकदिन ‘डिस इन्फेक्सन’ गर्नुपर्छ। भौतिक दूरी कायम राख्नुपर्ने व्यवस्था भएको हल सिंहदरबारमा छैन । अब बनिसकेपछि प्रधानमन्त्री जानुहुन्छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा प्रधानमन्त्री ओली करोना भाइरसको महामारीका कारण सिंहदरबारमा पहिलेभन्दा कम गएको बताउँछन् । उनले भने, ‘पहिला महामारी अलि बढी थियो, उहाँको स्वास्थ्य अवस्थाकै कारण चिकित्सकको सुझावअनुसार त्यहाँ जानुभएन । अब जानुहुन्छ ।’ प्रधानमन्त्री सिंहदरबार नजाँदा मन्त्रीहरू ‘रिपोर्टिङ’ गर्न निवासमै पुग्ने गरेका बताउँदै थापाले प्रशासनिक काम नरोकिएको बताउँछन् । 

मङ्सिर २१ गते धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठकमा समेत उनी स्वास्थ्यकै कारण देखाएर गएका थिएनन् । तर, बाहिर भने सुरक्षाको कारण भन्दै समाचार बाहिरिएका थिए । 

सिंहदरबार नजाँदा राज्य संयन्त्र सुस्त 

प्रधानमन्त्रीले निवासबाटै सरकार चलाउँदा राज्य संयन्त्र सुस्त बनेको पूर्वप्रशासकहरुको भनाइ छ । देश सङ्कटमा रहेका बेला प्रधानमन्त्रीको भूमिका उच्च हुनुपर्ने हो । तर, उनी महिनौँसम्म कार्यालय नजाँदा देश कसरी चलिरहेका छ भन्ने सजिलै अनुमान गर्न सकिने एक पूर्वसचिव बताउँछन् । 

उनी भन्छन्, ‘कार्यकारी प्रमुख नै कार्यालय नगएपछि त्यसबाट प्रधानमन्त्री कार्यालय त सुस्त हुने नै भयो । त्यसको असर तल्लो तहसम्म पुगेको छ । प्रधानमन्त्री नै कार्यालय नजाँदा त्यसले मन्त्रीहरूलाई पनि सुस्त बनाउने र कर्मचारीमा पनि अनुशासनको कमी देखिन्छ ।’


कस्तो लाग्यो ?

यो पनि