बैशाख २४, २०८१, सोमबार
               

'लौ न हजुर ! हिँडेरै भए पनि ताप्लेजुङ जान पाउँ'
कोरोनाको कहर : पुलमुनि बिताएका ७ रात

ADVERTISEMENT

काठमाडौँ । ‘लकडाउन’को सातौँ दिन । रातको १० बजे ललितपुरबाट केही युवाहरू काठमाडौँतर्फ हिँड्दै आए । सडकमा गुड्नुपर्ने त गाडी हो । तर, दृश्य ठीक उल्टो देखिन्थ्यो । सडक किनारामा गाडीहरू थन्किएका थिए । सडकमा मान्छेहरूको लावालस्कर लम्किरहेको थियो । काठमाडौँबाट झन्डै साँढे तीन सय किलोमिटर टाढा उदयपुरको बेलकासम्म पुग्ने आँट लिएर केही पैदलयात्री घरतर्फ लम्किरहेका थिए । 

टोलीमा थिए, उदयपुरको बेलका नगरपालिका ६ का ६ जना तथा ताप्लेजुङ मैयूखोलाका एक किशोर र एक जना युवा । सडकमा प्रहरी र पैदलयात्रीको लुकामारी चल्थ्यो। प्रहरीका आँखा छल्दै पैदलयात्री अघि बढ्थे । उदयपुर मात्र होइन कोही साढे सात सय किलोमिटर पर ताप्लेजुङ घर भएकाहरू समेत थिए । 

ओठ निर्चाेदा दूध आउने देखिने जस्ता किशोरदेखि भर्खरै जुँगाका रेखी बसेका युवासम्म थिए त्यो भीडमा । रातको सन्नाटामा सुनसान सडकमा हिँड्न नमिल्ने ‘लकडाउन’ छिचोल्दै पैदल हिँडिरहेका सबैको एउटै लक्ष्य थियो- आफ्नै घरको आँगन टेक्नु । अरनिको राजमार्ग र विपी राजमार्ग हुँदै मधेस झर्दै घर जाने उनीहरूको लक्ष्य थियो । 

जब उनीहरू कोटेश्वर आई पुगे । लावालस्कर हिँड्दा सुरक्षाकर्मीले रोक्ने भएकाले एक–एक जना केही समयको अन्तराल गरेर कोटेश्वर पार भए । उनीहरू लागे भक्तपुरतर्फ । विपी राजमार्गको बाटो काभ्रे, सिन्धुली हुँदै तराई झर्दै, कोही उदयपुर त कोही हिमालपारिको जिल्ला ताप्लेजुङ हिँडेरै जाने साहस उनीहरूमा थियो ।

अनि उनीहरू घर जान पाएनन्

केही दिनको अविराम हिडाइँबाट आफ्नै घरको आँगन टेक्ने तीव्र चाहना उनीहरू थियो । उनीहरूको त्यो चाहनामा तब ब्रेक लाग्यो, जब जडीबुटी पुल पुगे । भक्तपुर र काठमाडौँको सीमा छुट्ट्याउने पुलवारि केही सुरक्षाकर्मी थिए । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकामा तैनाथ सुरक्षाकर्मीले अरू ठाउँमा भन्दा केही कडाइ गरेका रहेछन् । प्रहरीहरू सवारीसाधनको पास जाँच गर्दै पास नभएका सवारीसाधन जताबाट आएका हुन्, उतै फर्काइरहेका थिए । सडकभरि प्रहरीले बार लगाएर बाटो छेकेको थियो । प्रहरीले लगाएका बारले ती पैदल यात्रीलाई समेत छेक्यो । 

यसअघि सुरक्षाकर्मी रहेका ठाँउहरुमा जसोतसो छल्दै आएका उनीहरूले त्यहाँ भने छल्न सकेनन् । उनीहरूले अनुनय विनय गर्दै हात जोडे । तर लाखौँ बिन्ती गर्दा समेत उनीहरूलाई जान दिइएन । घर जान नपाएपछि उनीहरू त्यही पुल मुनी बसे । लकडाउनको कारणले बाहिर निस्किएमा कारबाहीमा पर्ने डर थियो ।  पुल मुनी  बास बस्नुपर्ने उनीहरूको विवशता बन्यो ।

हामी पुग्दा जे देखियो 

शनिबार बिहान ८ बजे  नेपाल फ्ल्यासको टिम जडीबुटी पुलमुनि पुग्यो । हिउँदको समय भएकाले फोहोर मिसिएको मनोहरा नदीमा पानी कम थियो । तर दुर्गन्ध ज्यादा । त्यही पुलमुनि सुतिरहेका थिए उदयपुर बेलकाका १८ वर्षीय कृष्णबहादुर राई । उनीसँगै  थिए, अरू सात जना । 

बेलकाकै ६ कै सिताराम राई, राजन राई, हरि राई, सुजन राई, पूर्णबहादुर राईसँगै थिए । ताप्लेजुङ मैयूखोलाका कमानसिंह लिम्बू र श्री कार्की पनि त्यहीँ थिए । हामी त्यहाँ पुगेपछि सबै जना जर्‍याक जुरुक्क उठे । उनीहरूको छेउमा चाउचाउ र बिस्कुटका खोलसँगै रित्तिएका पानीका बोतल देखियो । अनुमान गर्न सकिन्थ्यो– ‘उनीहरूले यही खाएर निदाएका थिए ।’ 

उठ्नासाथ कृष्णबहादुरले आशा मान्दै सोधिहाले, ‘केही राहत दिन आउनुभएको हो ?’ हामीले केही नसोधे पनि एक जनाले भने ‘रातभरि सुत्न सकेका छैनौँ, साङ्लाभन्दा ठुलो लामखुट्टे टोक्न आउँछ, राति निदाउन सकेनौँ,  विहानपख निदाएछौँ ।’ केहीबेर उनीहरूको बाध्यता र घर जान नपाएको पीडाको विषयमा गफगाफ भयो । उनीहरूले भने ‘न यताको भइयो, न उताको, पुलको बास छ ।’

खानकै लागि कुकुरसँगको लडाइँ

पुलमुनि त मानिस मात्र होइन, जनावरहरूको समेत खाने-खेल्ने ठाउँ रहेछ । अलि पर केही गाईहरू चरिरहेका थिए । कुकुरहरू फोहोरको डङ्गुर खोतल्दै थिए । ‘भुस्याहा कुकुरले  सिरानीमा राखेको बिस्कुटहरू पनि खाइदिन्छ, केही खानेकुरा पकाउँदा पकाउँदै पनि कुकुर, गाईहरू आएर जुठो हाल्न आउँछ,’ सङ्कटसँग जुधिरहेका उनीहरूले जनावरसँग जुध्नुपरेको व्यथा सुनाए ।

ललितपुरको लुभुमा एक प्लटिङ कम्पनीमा काम गर्दै आएका उनीहरू १७ गते अपराह्न यात्रा थालेका थिए । त्यही राति सुरक्षाकर्मीले रोकेपछि उनीहरू जडीबुटी पुलमुनि बस्न थालेका हुन् । उनीहरू सबै जना निर्माण मजदुरको काम गर्ने रहेछन् । ‘घरमा कमाउने कोही छैन । बा, आमा, बुढी, छोरी मात्र छन्, काम नगरे परिवार भोकले मर्नेछन्,’ कमानसिंह लिम्बूले बाध्यता सुनाए ।

उनलाई ठुलो दुःख अहिले खान नपाएको भन्दा घर जान नपाएकोमा छ । ‘घरमा सबैलाई खुवाउने-पिलाउने जिम्मेवारी छ मेरो, तर अब म आफैँ यहाँ भोकले मर्ने भए । न घर जान पाइयो, न त यहाँ कसैले केही खान दियो’ श्री कार्कीले गुनासो गरे । ‘लकडाउन हुनुअगाडि नै घर किन नजानुभएको ?’ हामीले सोध्यौँ । सुजन राईले भने- ‘लकडाउन भनेको के हो भनेर हामीलाई थाहा भएन । पछि मात्र थाह भयो, घरभित्र बस्नुपर्छ भनेर ।’ 

उनीहरूले लकडाउनको अर्थ थाहा पाउन्जेलसम्म ढिला भइसकेको थियो । काठमाडौँमै बसौँ, खाने के भन्ने समस्या सुरु भयो । ज्यान बचाउने एउटै विकल्प बाँकी रह्यो, साँढे तीन सय किलोमिटर पैदल यात्रा । यत्तिकैमा सुजनले ढुङ्गा र सिमेन्ट मिश्रित केही टुक्रा जोडेर चुल्हो बनाए । केही काठहरू जम्मा गरेर आगो बालेर माथि केही बसाले । ‘बचेको केही दाल, चामल नुनसँगै हालेर खिचडी बनाउन लागेको’ मेरो जिज्ञासा मेटाउँदै सुजनले भने ।

 सरकारलाई सन्देश

छुट्टिने वेला हात जोड्दै उनीहरूले याचना गरे, ‘लौ न हजुर ! हामी हिडेरै भए पनि ताप्लेजुङसम्म जान पाउँ । हामी घर जान मिल्छ भने मिलाइदिनुहोला है हजुर ! हामी हिडेरै भए पनि जान तयार छौ ।’ उनीहरूले कोही राहत दिने मान्छे भए पनि आफूहरू कहाँ पठाउनसमेत अनुरोध गरे । हामी फर्कन लाग्दा अलि परसम्मै आएर उनीहरूमध्येका एक जनाले भने ‘यहाँ बसेर के खानु ? के लाउनु ? भएको जति सबै पैसा सकियो, केही राहत कसैले दिए पनि हुन्थ्यो, यो खबर सरकारलाई सुनाइदिनू ।’

लकडाउन गरेकोले सहरका सडक सुनसान देखिन्छन् । त्यही सडककै कतिपय पुलमुनि मानिसहरू खचाखच देखिन्छन् । उपत्यकाको बसाइ लम्ब्याउन नसक्नेहरूसँग गाउँ फर्किनु बाध्यता बन्दैछ । तर गाडी नचल्दा कष्टपूर्ण रूपमा हिँडेर जानेहरू त गइरहेका छन् । हिँडेर पनि जान नपाउनेहरूमध्ये कतिपयले खोला किनारामा पुलमुनि दिन बिताइरहेका छन् । 

जीवन भन्नु बाध्यता नै रहेछ । नभए भोकै, प्यासै सयौँ किलोमिटर यात्रा गर्ने रहर कसैलाई हुँदैन । पुलमुनि दुर्गन्ध सहेर भोकभोकै सुत्ने कसैको पनि चाहना हुँदैन । सङ्कटले निम्त्याएको विवशताको कैदी बनेर पुलमुनि सजाय काटिरहेका उनीहरूले कहिले उन्मुक्ति पाउलान् ? यही सोच्दै हामी फर्कियौँ । 
 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि