बैशाख २४, २०८१, सोमबार
               

४ किलो चामल राहत लिन ५ दिनको कष्ट
असुरक्षित लाइनमा दायाँबायाँ औँठाछाप समेत लगाइँदै

ADVERTISEMENT

विपन्न परिवारलाई राहत उपलब्ध गराउने खबर पाएपछि राहत लिन चाहनेहरूले ५ दिन लामो प्रक्रिया पुरा गरेपछि बल्ल राहत पाएका छन् । काठमाडौँ महानगरपालिकाले परिवारको सङ्ख्याका आधारमा राहत दिने भन्दै प्रक्रिया थालेको ५ दिनपछि राहत दिएको छ । महानगरपालिकाले अति विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई उनीहरूको परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउने घोषणा गरेको थियो । नगर कार्यपालिकाको विशेष बैठकले ‘कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड २०७६’ जारी गर्दै यस्तो व्यवस्था गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द भएपछि सर्वसाधारण घर बाहिर निस्कन पाएका छैनन् । जसले गर्दा दैनिक काम गरी खाने र विपन्न परिवारका मानिसहरू मर्कामा परेका छन् ।

यस्तो अवस्थालाई महानगरपालिकाले राहत उपलब्ध गराउने भनेपछि उत्साहित विपन्न परिवारहरूले ५ दिनअघिदेखि फारम भरेका थिए । दैनिक ज्यालादारीबाट छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएपछि कोरोना सङ्क्रमणको जोखिमबीच तँछाडमँछाड गर्दै लाइन लागे । 

त्यसको भोलिपल्ट राहत दिन बोलाइयो । खाद्यान्न लिएर घरमा चुलो बाल्ने अपेक्षा बोकेर राहत वितरण गर्ने स्थानमा पुगेका उनीहरूलाई कुपन मात्र बाँडियो । त्यसको भोलिपल्ट राहत वितरण गर्ने भनिए पनि बाँडिएन । काठमाडौँ महानगरपालिकाले आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौ धौ पर्नेहरूलाई सम्बन्धित वडाले प्रमाणित गरेका व्यक्ति र परिवारलाई अति विपन्न मानिने सूचीमा राखेको छ । त्यही पहिचान गरी प्रक्रिया गर्ने नाममा अझै तीन दिन अल्मलाएको विपन्न परिवारको गुनासो छ । 

शुक्रबार काठमाडौँ महानगरपालिका ७  गौरिघाटमा राहत वितरणस्थलमा भेटिएकी कान्छिमैया तामाङले भनिन्, ‘खानेकुरा सकिएको एक हप्ता बढी भयो, ५ दिनअघि फाराम भराइएको थियो, बल्लतल्ल आज फोन गरेर बोलाएर केही खानेकुरा दिनुभयो ।’ आफूले ४ किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी पाएको उनले बताइन् ।

काठमाडौँ महानगरपालिकाले २ वटै वडामा राहत वितरण गरिरहेको छ । तर सामान्य राहतको लागि पनि प्रक्रिया धेरै झन्झटिलो बनाएको गुनासो आएको छ । ५ दिनअघि फारम भराएर वितरणमा ल्याप्चेसमेतको प्रक्रिया पुरा गर्दै राहत वितरण भइरहेको छ । धेरै ठाउँमा राहत दिने क्रममा दुरी कायम गरिएको छैन । जसले राहत दिन आउनेहरूलाई गर्दा सङ्क्रमणको जोखिम बढेको छ ।

राहतका तीन वटा प्याकेट, कस्लाई कति ? 

काठमाडौँमा बस्नेमा परिवारमा एक जना मात्र रहेको अवस्थामा  ४ किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी पाउने छन् । दोस्रो प्याकेटमा १२ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, २ किलो चिउरा र ३ किलो तरकारी हुनेछ । यो २ जनादेखि ४ सम्मको परिवारका लागि हो ।

यदि कुनै परिवारमा ५ जनाभन्दा धेरै रहेछन् भने उनीहरूका लागि १६ किलो चामल, ३ किलो दाल, १ किलो नुन, १ लिटर तेल, ३ किलो चिउरा र ४ किलो तरकारीको प्याकेट हुनेछ । यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ । 

राहत वितरणका लागि वडाले कुनै धार्मिक, परोपकारी वा यस्तै उद्देश्य भएका संस्थाको सहयोग लिन वा उनीहरूलाई परिचालन गर्न सक्नेछ । सहयोगदाताले असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई खाना, खाजा र यस्तै खाद्य पदार्थ तथा सामाग्री वितरण गर्न चाहेमा स्थानीय प्रहरीको समेत सहयोग लिई वडाले सामग्री वितरणको व्यवस्था मिलाउन सक्नेछ ।

मापदण्डमा उल्लेख भएका खाद्य सामाग्री खरिद गर्नका लागि ‘महामारी तथा अन्य रोग नियन्त्रण कार्यक्रम’ शीर्षकमा वडामा निकासा भएको रकमबाट खर्च गर्नुपर्नेछ । यसरी गरिएको रकमबाट भएको खर्च सम्बन्धी भर्पाइसहितको विवरण वडाले अद्यावधिक राखी सार्वजनिक गर्नुपर्नेछ । त्यस्तै दैनिक प्रगति विवरण प्रमुख समक्ष पठाउनु पर्नेछ । सबै वडाले गर्ने कामको समानस्तर र अभिलेख प्रणाली एउटै बनाउन मापदण्डमा २ वटा अनुसूची राखिएका छन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि