बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । उनी ७७ वर्षका थिए ।
अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अनिललाई जून २ देखि ज्वरो आएको र त्यसको केही घण्टामा नै स्वास्थ्य स्थिती झनै बिग्रिएको जानकारी दिए । अनिलको बिहीबार साँझ ७ बजे निधन भएको हो ।
अनिल सुरीको अन्तिम संस्कार ओशिवारा शवदाहगृहमा गरिएको छ । त्यसक्रममा परिवारका चार जना सदस्य मात्रै उपस्थित थिए । अन्तिम संस्कारका बेला सबैले पिपिई किट लगाएका थिए ।
अनिलका भाइ राजिवका अनुसार, 'जून ३ मा अनिललाई सास फेर्न समस्या भइरहेको थियो । हामीले उनलाई अस्पताल लग्यौं । तर, हिन्दुजा र लिलावतीजस्ता अस्पतालले सेवा दिन अस्विकार गरे । त्यसपछि उनलाई नगरपालिकाको अस्पालमा बुधबार राति भर्ना गरियो । उनलाई कोरोनाको संक्रमण भएको थियो । बिहिबार चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेका थिए ।'
अनिल सुरीले राजकुमार र रेखा स्टारर कर्मयोगी र राजतिलकजस्ता फिल्म निर्माण गरेका थिए ।
यसैबीच, बिहीबार बिहान बलिउड फिल्म निर्माता बासु चटर्जीको पनि मृत्यु भएको थियो र त्यसैदिन साँझ अनिलको पनि मृत्यु भएको हो ।