बैशाख २५, २०८१, मंगलबार
               

मूर्तिकला कार्यशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

रासस
फागुन २६, २०७६

ADVERTISEMENT

बागलुङ । यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था (आइएसएसए) ले कार्यशालालाई सदस्यतासमेत दिएको छ ।

‘कार्यशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले (आइएसएसए) ले सदस्यता दिएको हो’, कार्यशालाका संयोजक मूर्तिकार ओम खत्रीले भने ।

संस्थाका महासचिव चीनका मूर्तिकार ल्यू याङ्गले कार्यशालाको समापन समारोहमा सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । (आइएसएसए) अन्तर्राष्ट्रियस्तरमा आयोजना गरिएका मूर्तिकला कार्यशालाको संस्था हो ।

सस्थाको केन्द्रीय कार्यालय चीनमा छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञसमेत रहेका संयोजक खत्रीले नेपालमा भएको यस कार्यशालाले अन्तर्राष्ट्रिय जगत्को ध्यान खिचेको जानकारी दिए ।

‘हाम्रो कार्यशाला अन्तर्राष्ट्रिय सञ्जालमा छिरेको छ, विश्वमा भएका अन्य कार्यशालाझैँ नेपालमा भएको कार्यशाला पनि इतिहासमा सुरक्षित रहनेछ’, उनले भने ।

कार्यशाला सञ्चालनका लागि इटालीमा रहेको अन्तराष्ट्रिय मूर्तिकारहरूको संस्था (एआइएसएम) ले पनि सघाएको थियो । अन्तर्राष्ट्रिय रूपमा आवेदन माग गरी विज्ञले गरेको छनोटका आधारमा मूर्तिकारलाई सहभागी गराइएको थियो ।

गलकोट नगरपालिका–५ टेउवामा भएको कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी थिए । अन्तर्राष्ट्रिय ख्याति कमाएका मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवन, संस्कृति र सभ्यता झल्कने १५ मूर्ति कुँदेका छन् ।

खुला मूर्तिकला संग्रहालय र ललितकला अध्ययन, अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना हो । मूर्तिकारले सिर्जना गरेका कलाकृतिलाई टेउवामै खुला संग्रहालय बनाएर प्रतिस्थापन गरिने आयोजक गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

कार्यशालामा नेपालबाट मूर्तिकार प्रविण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका थिए । मूर्तिकार श्रेष्ठले भगवान् गणेश, खत्रीले चरा, काफ्लेले प्रविधि, चौधरीले गौतमबुद्ध र पिठाकोटेले प्रकृतिलाई कलामा उतारेका छन् ।

यस्तै, जापानका जुनीचिरो सुगीमोतोले डुङ्गा, चीनका ल्यू याङ्गले नदी र समुद्र, इटालीका बेतीनो फ्रान्सेनीले औँठाछाप, फ्रान्सका जिवियर गोञ्जालेजले जीवन, ताइवानका लीन लि जेनले जीवनचक्रबारे अमूर्त मूर्ति कुँदेका छन् ।

क्यानाडाकी जुली ग्लास्पीले पनि जीवन र प्रकृति, भारतका टुटु पटानायकले रामायणको कथामा हनुमानले बोकेको सञ्जीवनी पर्वत, इजरायलकी तान्या प्रिमेन्जरले चरा र सर्प ब्राजिलका जर्ज लुइज सोडरले नेपाली बस्ती, भूबनोट र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्कोले चन्द्रमाको विभिन्न स्वरुपलाई कलामा प्रतिविम्बित गरेका छन् ।

मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच सहयोगी मूर्तिकारसमेत सहभागी थिए । आर्थिक वर्ष २०७३–७४ देखि कार्यशालाका लागि तयारी अघि बढाइएको थियो ।

पूर्वाधार निर्माणसहित कार्यशाला सञ्चालनका लागि झण्डै दुई करोड ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि सरकारी निकायदेखि व्यक्तिगतरूपमा समेत आर्थिक सहयोग जुटाइएको थियो ।

कार्यशालास्थलका लागि स्थानीयवासीले २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । सोही स्थानमा खुला मूर्तिकला संग्रहालय र ललितकला अनुसन्धान केन्द्र बनाउने प्रतिष्ठानको योजना छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि