बैशाख १६, २०८१, आइतबार
               

एनआरएनद्वारा आर्थिक सहयोग संकलन अभियान सुरु

रासस
चैत २२, २०७६

ADVERTISEMENT

 अमेरिका । कोरोना भाइरसबाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघले आर्थिक संकलन अभियान सुरु गरेको छ । नेपाल सरकारलाई  यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको संघले त्यसबाहेक पनि ‘एनआरएनए कोरोना राहत कोष’को स्थापना गरी आर्थिक सहयोग संकलन अभियान अगाडि बढाएको हो ।
 
संघका अध्यक्ष कुमार पन्तले कोषमा संकलन हुने रकम आवश्यकता अनुरूप नेपाल र नेपाल बाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने बताए ।

संघले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेटमार्फत तथा एनआरएनए रेस्पेक्ट आइएनसी डट नेट वेभसाइटमा गई अनलाइनमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ । साथै, संघले सानिमा बैंकमा खोलेको संघको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।
 
अध्यक्ष पन्तका अनुसार कोषमा सहयोग संकलनको कार्य तीव्र भइरहेको छ । संघअन्तर्गत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूले समेत आर्थिक सहयोग कोष बनाएर ती देशहरूमा आर्थिक सहयोग संकलन गरिरहेको अध्यक्ष पन्तले बताए ।

आर्थिक सहयोग संकलन अभियानबाट यति नै रकम उठाउने भनी लक्ष्य नराखिएको भए पनि करिब तीन करोड रुपैयाँ जम्मा हुने अपेक्षा राखिएको संघले जनाएको छ ।

संघले गैरआवासीय नेपाली संघ दक्षिण कोरिया शाखाले खरिद गरेको करिब रु एक करोड बढी बराबरको स्वास्थ्य सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ भने पूर्ववत एक करोड रुपैयाँ सहयोगको प्रतिबद्वताअनुरुप नेपाल सरकारले भनेबमोजिम थप आवश्यक सामग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिए । 

संघले निर्माण गरेको कोभिड–१९, एनआरएनए उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका एनआरएनएका अध्यक्ष पन्तले अहिलेको यो विषम परिस्थितिमा सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्मार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थीदेखि सबै नेपालीलाई आवश्यक सहयोगको काम भइरहेको जानकारी दिए । संघको हालसम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको छ ।
     
विश्वभर करिब ८० लाख गैरआवासीय नेपाली रहेको बताइन्छ । पछिल्लो समय कोभिड–१९ महामारीको प्रकोप बढिरहेको अमेरिका तथा युरोपका देशहरूमा गैरआवासीय नेपालीको बसोबास बढिरहेको छ । कोभिड–१९ को संक्रमणका कारण पाँच जना गैर आवासीय नेपालीको ज्यान गइसकेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि