बैशाख १४, २०८१, शुक्रबार
               

नरैनापुरका फरार कोरोना संक्रमित पक्राउ

रासस
जेठ १०, २०७७

ADVERTISEMENT

राँझा । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक कोरोना संक्रमितलाई प्रहरीले आज पक्राउ गरेको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराति फरार भएका एक जनालाई आज बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

संक्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका संक्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए । बाह्र जना संक्रमितलाई गएराति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार संक्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको प्रहरी उपरीक्षक वलीले बताए । 

उनले स्थानीयवासी र अन्य सरोकार भएकाहरुले असहयोग गर्दा नरैनापुरबाट संक्रमितलाई ल्याउन पटक–पटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताए । नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

कोरोना महामारीको कठिन परिस्थितिमा स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक जोखिममा परेर संक्रमित पत्ता लगाउँदै व्यवस्थापन गर्न खोज्दा बिरामीलाई क्वारेन्टिनबाट आइसोलेशन केन्द्र र अस्पतालसम्म ल्याउन सबैको साथ नपाउनु चिन्ताको विषय भएको उनको भनाइ छ । सदरमुकाम नेपालगञ्जबाट करबी ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुर मात्रै ८७  संक्रमित पुगेका छन् । 

कोरोना विजेतालाई गाउँमा स्वागत 
२१ जना संक्रमितले कोरोना भाइरसलाई पराजित गरेर घर फर्किँदा नेपालगञ्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ । बाइसौँ दिनमा कोरोना परास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा नेपालगञ्जको पहिलो कोरोना खतरा क्षेत्र बन्न पुगेको जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए । 

टोलका सबैजना एकसाथ घर फर्किँदा टोलवासीमा कोरोनाको त्रास हटेर खुशीको वातावरण सिर्जना भएको स्थानीयवासी नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख समसुद्दिन सिद्दिकीले बताए । एकैसाथ धेरै संक्रमित हुँदा निराश र त्रासमा रहेका घरपरिवार र टोलवासी बिरामी निको भएर घर फर्किँदा रमजान पर्वको पूर्वसन्ध्यामा खुशी साटासाटसमेत गर्ने वातावरण बनेको उनको भनाइ थियो । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि