बैशाख १५, २०८१, शनिबार
               

कोरोना संक्रमण : निको हुनेको संख्यामा सुधार, गम्भीर विरामी पनि घट्दै

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमण र मृत्यु बढेसँगै उपचारपछि निको हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति एवं छाती तथा श्वासप्रश्वास सम्बन्धी रोगका विशेषज्ञ डा. अर्जुन कार्कीका अनुसार कोरोना संक्रमणका ८० प्रतिशत बिरामी सामान्य अवस्थाको रुघाखोकीको भन्दा कम असर देखिन्छ । उनका अनुसार बाँकीलाई अलि कडा प्रकृतिको संक्रमण हुन्छ ।

नेपालमा अहिलेसम्म उपचाररत संक्रमित सबैको अवस्था सामान्य छ ।

विश्वभर कुल संक्रमितमध्ये ३२ प्रतिशतभन्दा बढी उपचारपछि निको भइसकेका छन् । कुल संक्रमितमध्ये ७ प्रतिशतको मृत्यु हुने गरेको छ । सुरुवातमा मृत्यु केही बढी भएकोले यो प्रतिशत घटेको छैन । तर उपचारपछि ठिक हुनेको सङ्ख्यामा सुधार भएको छ । वैशाख ७ गते कुल संक्रमितमध्ये २६ प्रतिशत उपचारपछि ठिक भएकोमा अहिले चार प्रतिशतभन्दा बढी पुगेर ३२ दशमलव ३६ प्रतिशत निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभरमा ३५ लाख ६५ हजार २६५ संक्रमित भएकोमा ११ लाख ५३ हजार ९९५ जना निको भइसकेका छन् । त्यस्तै मृत्युको सङ्ख्या २ लाख ४८ हजार २५० जना पुगेको छ ।

निको हुनेको सङ्ख्यामा दिनहुँ सुधार हुँदा यसको प्रतिशत पनि बढ्दै गएको छ । यति बेला विश्वभर ५० हजार ४१ जना गम्भीर बिरामी भएको वल्डोमिटरले जनाएको छ । यो कुल उपचाररत २१ लाख ६३ हजार २० जना संक्रमितको २ प्रतिशत मात्र हो । यसअघि गम्भीर बिरामी १० प्रतिशतसम्म थिए ।

हेर्नुस् वैशाख ७ गतेको अवस्था

वैशाख ७ गते नेपाली समयअनुसार मध्यान्नसम्म विश्वभरमा २३ लाख ३३ हजार ८९५ जना संक्रमित थिए । त्यसमध्ये ६ लाख ४०६ जना निको भइसकेका थिए भने १ लाख ६० हजार ८२० जनाको मृत्यु भइसकेको थियो । अहिले विश्वभर उपचाररतमध्ये २ प्रतिशत गम्भीर रहेकोमा  वैशाख ७ गते ४ प्रतिशतभन्दा बढीको अवस्था गम्भीर थियो । वैशाख ७ मा विश्वभर ५५ हजार २७० जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको थियो ।

सजग र सावधानी आवश्यक

कोरोना भाइरसको सम्भावित संक्रमण र विस्तारबाट विचलित हुनु पर्ने अवस्था छैन । तर पनि कोरोना भाइरसबाट मुक्तिका लागि 'सोसल डिस्टेन्स' कायम गर्नु नै हो । संक्रमण फैलन नदिनु नै यसबाट छिटो मुक्ति पाउनु हो । अहिलेसम्म यसको खोप नबनेको र यसका लागि विशेष औषधिसमेत बनी नसकेको अवस्थामा छैन । नेपालमा पनि नियमित साबुनपानीले हात धुने, लकडाउनको पालना गर्ने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनेलगायत सरकारको अनुरोध तथा विशेषज्ञहरूको सुझावलाई पालना गर्न आवश्यक छ ।


कस्तो लाग्यो ?

यो पनि