बैशाख १५, २०८१, शनिबार
               

'चीनको चाहना नेकपा विभाजन नहोस् भन्ने छ'

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

सत्तासीन नेकपाभित्रको विवाद अहिले उत्कर्षमा छ । राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर त्यसको असर भने अझै देखिइरहेको छ । अध्यादेशको औचित्यबारे छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका छन् । उनीहरूले ओलीको एकलौटी कार्यशैलीले सरकार अलोकप्रिय भएको भन्दै बाटो खुला गर्न प्रधानमन्त्रीलाई दबाब दिँदै आएका छन् । पछिल्लो शक्ति सङ्घर्षबारे चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहेका नेकपा केन्द्रीय सदस्य टंक कार्कीसँग नेपाल फ्ल्यासका लागि श्यामसुन्दर पुडासैनीले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्नुभएको छ । प्रधानमन्त्रीले कहिले राजीनामा गर्नुहुन्छ ?

यसको सम्भावना र उपयुक्तताबारे पार्टी कमिटीबाट निर्णय होला । त्यहाँ पुर्‍याउन ओलीज्यू मात्र नभई अरू पनि तयार हुनुपर्‍योे । वामदेवजीलाई प्रधानमन्त्री बनाउने दुइटा बाटो छन् । पहिलो, उनलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन गराएर राष्ट्रियसभा सदस्य बनाउने । अनि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार हुनसक्ने भन्दै संविधान संशोधन गर्ने । दोस्रो, प्रतिनिधिसभाको कुनै सिट खाली गराएर त्यसमा वामदेव गौतमलाई उम्मेदवार बनाउने । उपचुनाव जिताएर प्रधानमन्त्रीको उम्मेदवार बनाउने । कुनै एक जनाको लागि संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने विषय उचित नहोला । संविधान भनेको बृहत् र राष्ट्रिय सामाजिक हितको दस्ताबेज हो । त्यसलाई सङ्कीर्ण स्वार्थमा फेरबदल गर्नु हुँदैन । यसको अतिरिक्त संविधान संशोधनको प्रक्रियामा जाँदा तमाम अरू प्रश्न आउने छ । यदि यसो भएमा सरकार थप आलोचित हुने खतरा  छ । यो भन्दा अर्को प्रक्रिया उचित हुन सक्छ ।

अब हुने निर्वाचनपछि पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार वामदेव गौतम हुने भनेर 'कमिटमेन्ट' गरेर पनि जान सकिन्छ । यो कमिटमेन्ट चाँहि पार्टीले गर्नुपर्छ ।

त्यसो भए कुनै क्षेत्रको सांसदलाई राजीनामा गराएर उपनिर्वाचन गराउनु नै उचित हो ?

मैले दुइटा बाटोमध्ये त्यो बाटोचाँहि उचित र कम आलोचित ठानेको छु ।

पछिल्लो राजनीतिक सकट कसरी आयो ? कोरोनाको संकटबीच उब्जिएको राजनीतिक संकटलाई यहाँले कसरी हेर्नुभएको छ ?

अहिले नेकपाभित्रको समस्या विधि र प्रक्रिया पद्धतिभित्र पार्टीलाई ल्याउन नसक्नु हो । पार्टीभित्र हुने निर्णय संस्थागत, पद्धतिगत, विधिगत र पार्टीगत छैन । पद्धतिभित्र आउनासाथ तमाम समस्या आफैँ हल हुँदै जान्छ । समस्या कहाँनेर रह्यो भने हामीकहाँ सामूहिक नेतृत्व भए पनि कार्यान्वयनमा त्यो छैन । सिङ्गै राजनीतिको अहिलेको समस्या हो । 'कस्मेटिक लिडरसिप'को रूपमा देखाउने कोशिस भयो । हामीकहाँ सामूहिक नेतृत्वको संरचना छ । तर यसको अभ्यास र कार्यान्वयनमा कमजोरी छ । त्यसले यस्ता समस्या आइरहेका छन् ।  

यसअघि वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने पार्टीले गरेको निर्णयमा प्रधानमन्त्री स्वय‌ंले मान्दिन भनिसक्नु भएको छ । पद्धति अनुसार गरेको निर्णय पनि त पालना भएको छैन नि ?

संगठनमा त्यस्तो गर्नु हुँदैन । पार्टीका निर्णयहरू मानेर जानुपर्छ । बहुमतले अल्पमतलाई पेलेरभन्दा पनि सबैलाई मान्य हुने निर्णय आउँदा राम्रो हुनेछ । पार्टीको विधानले विधि र प्रक्रियाको व्यवस्था गरेको छ । आएका समस्याहरूलाई त्यसभित्र छलफल गरिनुपर्छ । निर्णय अनुसरण गरिनुपर्छ । तिघ्रा ठटाएर काम छैन । त्यसले नोक्सानीबाहेक केही गर्दैन ।

'वामदेव कार्ड' निकासका लागि नभई प्रधानमन्त्रीले आफूविरोधी मोर्चा तोड्न ल्याएको बुझाइ नेताहरूकै छ नि ?

मलाई त्यस्तो लाग्दैन । त्यो प्रस्तावले पार्टीलाई फलिफाप गर्छ कि गर्दैन । त्यो हेर्नुपर्छ । पार्टीका अरू शीर्ष नेता सबै टेष्टेड छन् । सायद प्रधानमन्त्रीज्यूलाई लाग्यो होला वामदेवज्यूले अवसर पाउनुभएको छैन । प्रचण्ड, झलनाथ, नेपाल सबै प्रधानमन्त्री भइसक्नुभएको छ । त्यो ओहोदामा अब वामदेव मात्रै बाँकी रहेकाले प्रधानमन्त्रीज्यूले प्रस्ताव राख्नुभएको हुनसक्छ । यसका लागि उहाँलाई प्रधानमन्त्री बनाउने प्रक्रिया कत्तिको सहज छ । त्यो पनि हेर्नुपर्छ । त्यसमा एउटा अर्को विकल्प पनि छ । अब हुने निर्वाचनपछि पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार वामदेव गौतम हुने भनेर 'कमिटमेन्ट' गरेर पनि जान सकिन्छ । यो कमिटमेन्ट चाँहि पार्टीले गर्नुपर्छ । त्यो भएमा अहिले देखिएका शङ्का उपशङ्का निवारण हुनसक्छ ।

त्यसो भए अहिलेलाई प्रधानमन्त्री ओलीको विकल्प छैन ?

म त्यो पनि भन्दिन । गाँठी कुरा त पार्टीभित्र घनिभूत संवादमार्फत साझा निष्कर्ष निकाल्नुपर्दछ । त्यो भनेको आइन्दा समस्याको छिनोफानो विधि र प्रक्रिया राखेर सामूहिक नेतृत्वको अक्षरस अनुसरण गर्ने । न्यूनतम सर्त के हो भने मै नेता हुँ र पार्टी मेरो गुट हो भन्ने अधैर्यता त्याग्नुपर्छ । त्यो भयो भने कहाँ कहाँ भ्वाङ परेको छ ? र, त्यसलाई कसरी टाल्ने भनेर जुक्ति निकाल्न कुनै हम्मे हुँदैन ।

यसो भए वामदेवलाई लोभ्याएर आफ्नो गुट बलियो बनाउन चालिएको रणनीतिक कदम मात्र हुन सक्ला कि ?

म त्यो शङ्काको दृष्टिले पनि हेर्दिन । उहाँले त्यो विकल्प सहज ठान्नुभएको होला भन्ने लाग्छ मलाई ।

वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनका विषय आयो । दुइतिहाइ पुग्छ त ?

पहिलो, कोही कसैलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नु उचित छैन । संविधान संशोधन जस्तो गम्भीर विषयलाई कुनै व्यक्तिका लागि अनुकूल पार्न वा कुनै दलको अन्तरविरोधलाई सम्बोधन गर्न प्रयोग गरियो भने गलत हुन्छ । यसो गरेमा गलत नजिर बन्नेछ । अनि, संविधान संशोधन गर्ने तागत नेकपासँग छैन । अरू दललाई मनाउन खोजिए साथ दिन्छन् भन्ने छैन । त्यसको संभावना क्षीण पनि म देख्दिन ।

संविधान संशोधन जस्तो गम्भीर विषयलाई कुनै व्यक्तिका लागि अनुकूल पार्न वा कुनै दलको अन्तरविरोधलाई सम्बोधन गर्न प्रयोग गरियो भने गलत हुन्छ । यसो गरेमा गलत नजिर बन्नेछ । अनि, संविधान संशोधन गर्ने तागत नेकपासँग छैन ।

अहिले समस्याको कारक को हो ?

अहिलेको समस्याको कारक 'नेता भनेको मैँ हुँ, पार्टी भन्नु नै मेरो गुट हो' भन्ने ठान्नु हो । अनि अधैर्यता पनि हो । एकलकाँटे निर्णयले आगोमा घीउचाँहि थपेकै हो । कतिपय निर्णय गर्न साँढे ४ सय जनाको केन्द्रीय कमिटी बैठक बसेर छलफल गर्न गाह्रो होला । तर, निर्णय गर्नको लागि केही छरिता कमिटीहरू पनि पार्टीमा छन् । नौ जनाको सचिवालय, ४५ जनाको स्थायी कमिटी छ । त्यहाँ छलफल गर्न सकिन्छ नि । अध्यादेश प्रकरणमा पनि नौ सदस्यीय सचिवालयमा छलफल गरेको भए हुँदैनथ्यो र ? प्रधानमन्त्रीज्यूले बलमिचाइँ गरेको देखियो ।

तपाईँको विचारमा अहिले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने खेलको अगुवाइ कसले गरिरहेको थियो ? माधव नेपाल कि प्रचण्डले ?

मैले अघि पनि भनेँ । करिस्मेटिक लिडर र कलेक्टिभ लिडरको कन्ट्रयाडिक्सन हो । पछिल्ला परिस्थितिमा नेकपाभित्र यो प्रकट भयो । यो नेकपामा मात्र होइन । अरू दल र नेपाली राजनीतिको रोग नै हो । करिस्मेटिक लिडर हिजोको समयमा ठीक थियो । आजको युगमा हाम्रो समाजभित्र करिस्मेटिक लिडरसिप काम लाग्दैन भन्ने त राजतन्त्रको अन्त्यले नै देखाइसकेको छ । अब त्यो युग सकियो । व्यक्ति विशेषको भूमिकाभन्दा पनि पछिल्लो समयको यस्तो प्रवृत्तिका कारण समस्या देखिएका हुन् ।

तपाईँले भनेजस्तै पार्टीभित्र ओलीले मनमौजी गर्दै गए । नेपाल समूह ओलीबाट लगातार पेलाइमा पर्दै आयो । उहाँलाई यसरी पेल्दाखेरि उछिट्टाएर अर्को कित्तामा पुग्नुभएको हो कि ?

कारण खोज्दै जाँदा क्रियाको प्रतिक्रिया हुँदैन भनेर कसरी भन्ने र ! त्यस्ता मनोवैज्ञानिक प्रभाव पनि होलान् ।

अरूको पार्टी फुटाउन खोज्नु र आफ्नै पार्टी फुटाउने प्रधानमन्त्रीको नियत त खराब देखियो नि ?

विना गम्भीर चिन्तन त्यसो गरिएको भन्ने त व्यवहारले देखायो नि । यस मुद्दामा अघि र पछिको परिणामबारे सोचेको पाइएन । न त पार्टीभित्रै छलफल भयो । यो दुखद् हो । अर्को पार्टी तोडफोड वा विघठनलाई सजिलो बनाउनेतर्फ सोच्नु हुँदैन । आफ्ना मुद्दा र पर्फमेन्सतर्फ टार्गेट गर्नु पर्छ । पार्टी टुटफुट बनाउने पुरानो खेलतिर लागिएको हो भने अब हाम्रो देशले धान्न सक्दैन । एक त हामी गरिब छौँ । दोस्रो हाम्रो आर्थिक र सामाजिक विकासलाई यसले असर पुर्‍याउँछ । फुटाउ र शासन गर भन्ने चिन्तनलाई हामीले अँगाल्नु हुन्न । त्यो कदम गलत थियो । अहिले सच्चियो । राम्रो भयो ।

यही प्रकरणले अन्ततः प्रधानमन्त्रीको दुवै पद संकटमा परेको छ । अहिले प्रधानमन्त्रीको मुड के पाउनुभएको छ ?

मैले बारम्बार दोहोर्‍याइरहेको छु । प्रधानमन्त्रीको शैलीले आफैँ संकटमा पर्नुभएको हो । अब त्यो शैलीले काम गर्दैन । शैली सुधार्नुपर्छ । सामूहिक नेतृत्वको परिपाटीमा जानुपर्छ । त्यसको पूर्ण अभ्यास हुनुपर्छ । त्यो भएमा समाधान आफै मिल्नेछ । अहिलेको लागि विकल्प खोज्नतिर लाग्नुहुँदैन । पार्टीभित्र र बाहिर यति धेरै विरोध आएको उहाँ आफैँले देखिसक्नु भएको छ । अब उहाँले आफ्नो कार्यशैली बदल्छु भन्ने सोचिसक्नुपर्ने हो ।

संकट समाधानको लागि नेकपामा ओलीको विकल्प को हो ?

पहिलो सर्त त प्रधानमन्त्रीज्यूलगायत सबै नेता कार्यकर्ताले सामूहिक नेतृत्वको अस्तित्व स्वीकार गर्ने हो । सबैले सामूहिक नेतृत्व पालना गर्ने हो । हामी सबैले सतर्कता लिने र दूरगामी सोच राख्ने हो भने खेलाडी हामी मात्र छैनौँ । लगभग दुइतिहाइ ल्याएको ठुलो पार्टी हो यो । यो पार्टीभित्रको दरारमा आन्तरिक शक्ति मात्र छैनन् । बाहिर 'सुरसा' मुख लाएर बसेकाहरूको पनि ख्याल गर्नुपर्छ नेताहरूले । कहिलेकाहीँ सत्तामा सहभागी हुन नपाए वा अवसर नपाएकाहरूको कुण्ठा पनि हुनसक्छ । उनीहरूको दमित भावना पनि हुनसक्छ । अहिले सुझबुझपूर्ण ढङ्गले विवाद हल गर्ने दिशामा लाग्नु पर्छ । तत्कालका लागि प्रधानमन्त्रीको विकल्पभन्दा सुध्रिने अवसर दिँदा उपयुक्त होला ।

अहिले सुझबुझपूर्ण ढङ्गले विवाद हल गर्ने दिशामा लाग्नु पर्छ । तत्कालका लागि प्रधानमन्त्रीको विकल्पभन्दा सुध्रिने अवसर दिँदा उपयुक्त होला ।

ओली पहिलोपटक प्रधानमन्त्री बन्दा निकै लोकप्रिय बन्नु भयो । तर, दोस्रो कार्यकालमा अति विवादित र आलोचित बनिरहनुभएको छ । कारण के हो ?

नेताहरूमा 'पार्टी मैँ हुँ र नेता पनि म मात्रै हुँ, त्यसैले मैले जे भन्याे त्यही हुनुपर्छ' भन्ने प्रवृत्ति छ । पार्टीभित्र सबै नेताहरू छन् । सबैको आआफ्नो विचार हुन्छ । विविधतालाई सबैले बुझ्नुपर्छ ।

अहिलेको अवस्था यदि बिग्रेर गयो भने नेकपामा फुट आउने सम्भावना कति छ ?

फुटको त म कल्पना पनि गर्दिन । अहिले बनेको नेकपा हिजोको दुई शक्ति एमाले र माओवादी हुन् । ती दुबैका कार्यकर्ताको एकै पृष्ठभूमि छ । यी दलहरू गुटको स्वार्थसँग भन्दा पनि मुलुकको लागि केही गरौँ.भनेर गाँसिएका हुन् । सामाजिक मिसनसँग गाँसिएका हुनाले अहिले फुटको पोस्टमा जान्छन् भन्ने कल्पना बाहिरको  कुरा हो ।

उसो भए प्रधानमन्त्री फेरिएलान् तर फुटको सम्भावनाचाहिँ छैन ?

पार्टीले आवेशमा आएर अतिवादी निर्णय लिँदैन । सम्यक निर्णय नै लिन्छ । बरु पछिल्लो घटनाक्रमले  प्रधानमन्त्री चेन्जफेन्ज भए पनि, फुट भने हुँदैन । प्रधानमन्त्री हेरफेर हुने पार्टीभित्रको स्वभाकि प्रक्रिया मान्न सकिन्छ । तर, फुटसम्मको जटिल अवस्थामा नेताहरू पुगिसकेका छैनन् । त्यो अवस्था आउन दिनुहुँदैन ।

विभाजनका लागि पनि नेताहरू मानसिक रूपमा तयार देखिन थालेका छन् । पछिल्लोपटक अध्यादेश आएलगत्तै पूर्वमाओवादी पक्षको छुट्टै बैठक बसेको थियो । एक अर्कोलाई विश्वास नभएको देखियो नि हैन र ?

यो सांस्कृतिक ह्‍याङओभर हो । पुरानो जमानादेखि हामी जसरी चल्दै आएका थियौँ, त्यसको असर हो । केही समयसम्म यस्ता गतिविधि रहलान् । तर छुटिएर अर्को दिशामा जाने भन्ने नहोला ।

पार्टी अध्यक्ष नेता नेपाललाई र प्रधानमन्त्री वामदेव गौतमलाई सुम्पनुपर्नेमा बहस भइरहेको छ । दुवै पद त्याग्नुपर्ने अवस्था आए प्रधानमन्त्री ओलीले पार्टी फुटाउँदैनन् ?

मलाई त्यो हदसम्म यो विवाद जान्छ जस्तो लाग्दैन । शक्तिको बाँडफाँडमा केही परिवर्तन हुन सक्ला ।

शक्ति राष्ट्रहरू आफ्नो इन्ट्रेस्ट निम्ति विश्व राजनीतिको चेसबोर्डमा आफ्नो गोटी चलाइरहेका हुन्छन् । कसै कसैलाई माइक्रोम्यानेजमेन्टमा चासो होला ।

नेपालको महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा अरू मुलुकको प्रभाव रहेको चर्चा हुने गर्छ । अहिले विकसित घटनाक्रममा चाहिँ बाह्य भूमिका कत्तिको होला ?

नेपालको भूराजनीतिक सन्दर्भलाई आफ्नो पक्षमा खेल्ने खेलहरू होलान् । छिमेक र धेरै परबाट पनि यसलाई नियालीरहेका होलान् । कहीँ न कहीँ अन्तरकुन्तरमा कुनै फोर्सले काम गरिरहेको पनि हुनसक्छ । शक्ति राष्ट्रहरू आफ्नो इन्ट्रेस्ट निम्ति विश्व राजनीतिको चेसबोर्डमा आफ्नो गोटी चलाइरहेका हुन्छन् । कसै कसैलाई माइक्रोम्यानेजमेन्टमा चासो होला । तर, हामीसँग मित्रहरूको सद्भाव र सहयोग पनि छ ।

यतिनै बेला नेपालस्थित चिनियाँ दूतावासको सक्रियता देखिएको छ । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालसँग भेटघाट गरेकी छिन् । नेपालमा चीनको चासो बढेको हो ?

कोरोना भाइरसको संक्रमण र त्यसै सन्दर्भमा सहयोगको विषयमा भेटघाट भएको हुनु पर्छ । राजनीतिक विषयमा भेटघाट भएजस्तो मलाई लाग्दैन ।

कतिपयले नेकपाको विवाद मिलाउन उत्तरी छिमेकीले हात हालेको भन्न थालेका छन् नि ?

मलाई राजनीतिक मुद्दामा भेटघाट भएको लाग्दैन । तर भेटका क्रममा सन्दर्भ आउँदा चीनको चाहना विभाजन नहोस् भन्ने देखिन्छ । उनीहरूले प्रष्टसँग भन्ने गरेका छन्- यो तपाईँहरूको आन्तरिक मामिला हो । उनीहरूले माइक्रोम्यानेजमेन्ट गर्दैनन् । तर नेकपा विभाजन नहोस् भन्ने चीनको चाहना बुझ्न सकिन्छ । चीनले एकता हुनु राम्रो हो विभाजनभन्दा भन्ने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि