चैत ०६, २०८०, मंगलबार
               

पार्टी एकताका लागि हामी प्रयासरत छौँ: भट्टराई

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण अप्ठ्यारोमा परेको बताएका छन् ।

प्रेस संगठन नेपाल प्रदेश-२ले आइतबार जनकपुरधाममा गरेको एक भेलालाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भन्दा गुटको नेता बन्न चाहेको आरोप लगाउँदै सो बताएका हुन् ।

‘नेकपा एक होस् भन्ने धेरैको चाहना छ। तर, केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ,’ उनले भने ।सो क्रममा उनले विगतका चुनावमा पार्टी एकताकै कारणले जितेको पनि स्मरण गरे । 

अध्यक्ष प्रचण्ड, माधव नेपाल अहिले पनि पार्टी एकताको पक्षमा रहेको उनको भनाइ छ ।  ‘पार्टीलाई एक बनाउनका लागि हामी अहिले प्रयास गर्दैछौँ,’ सो क्रममा उनले भने।

शुक्रबार हेटौँडामा औद्योगिक क्षेत्रको उद्घाटन गर्ने क्रममा मन्त्री भट्टले हाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाडेको खण्डमा एकता हुने भन्दै आफूलाई सन्देश पठाइरहेको बताएका थिए । मन्त्री भट्टको सो अभिव्यक्ति आएको दुई दिन नबित्दै दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले आफूहरु पार्टी एकताका लागि प्रयासरत रहेको बताएका हुन् । 

त्यसैगरी, ओली समूहका नेता तथा युवासंघका अध्यक्ष महेश बस्नेतले पूर्वएमाले धारका नेताहरुले आफूसँग एकताका लागि सहज वातावरण बनाउन आग्रह गरिरहेको बताउँदै आएका छन् । 

आन्तरिक रुपमा पार्टी एकताका लागि दाहाल-नेपाल समूहका नेताहरु सक्रिय रहे पनि पार्टी एकताका लागि प्रयासरत छौँ भनी सार्वजनिक गर्ने नेता योगेश भट्टराई पहिलो नेता हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि