बैशाख १५, २०८१, शनिबार
               

प्रचण्ड–ओलीबीच दोहोरी ब्याटल, उपाधि कसको पोल्टामा ?
यस्ता असहिष्णु बोली उनीहरूको पदको गरिमाका लागि शोभनीय होलान् त ?

ADVERTISEMENT

राजनीतिक रुपमा विभाजित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा नेताहरूको दोहोरी ब्याटल तीव्र चलिरहेको छ । संसद विघटनको विषयलाई लिएर नयाँ चुनावमा जानुपर्ने भन्ने पक्ष र संसद पुन स्थापना हुनुपर्छ भन्ने पक्षबीच सार्वजनिक रुपमा पेचिलो आरोप प्रत्यारोपको दोहोरी ब्याटल चलिरहेको हो । 

विषेशगरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्ला दिनमा सार्वजनिक मञ्चबाट आरोप प्रत्यारोप चलिरहेको हाे । नेकपाका दुई विभाजित समूहले एक अर्कालाई सार्वजनिक मञ्चबाटै चुनौती दिइरहेका छन् । कानूनी मान्यता मात्रै पाउन कुरिरहेका ओली समूह र प्रचण्ड –नेपाल समूह काठमाडौंमा फरक समयमा तर एकै ठाउँबाट आरोप प्रत्यारोपमा उत्रिएका छन् । आफ्नै पुराना सहकर्मीप्रति व्यक्तिगत रूपमा गरिएका उनीहरूका आक्रामक कटु अभिव्यक्तिले मर्यादाको सीमा उल्लङ्घन गरेको स्पष्टै सुनिन्छ । नेताहरूबीचको यस्ता स्तरहीन भनाभन चलिरहेको हाे । 

नेताहरूका पछिल्ला अभिव्यक्तिहरू बढी नै आक्रामक र  दम्भपूर्ण छन् । उनीहरूका अभिव्यक्ति हेर्दा धेरैले एक पटक सोच्न बाध्य हुन्छन्, यस्ता असहिष्णु बोली उनीहरूको पदको गरिमाका लागि शोभनीय होलान् त ?

प्रतियोगिता झैं देखिएको प्रतिस्पर्धीका रुपमा सहभागी ओली र दाहालमध्ये ब्याटलको ताज कसको पोल्टामा पर्ला ? त्यो निर्णायक मण्डलको हातमा छ । निर्णायक मण्डलको रुपमा देखिएका छन्, सर्वोच्च अदालत र निर्वाचन आयोग ।  प्रतियोगिताको ताज कसको पोल्टामा पर्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन ।

नेपालमा ‘५० वर्ष शासन गर्ने’ भन्दै एकता गरेका नेकपाका नेताहरू सत्तामा गएको तीन वर्ष पुग्दा नपुग्दै दुई चिरामा बाँडिएपछि एक अर्कालाई खुइल्याउन लागिपरेका छन् । ओली पक्ष र विपक्षमा विभाजित नेताहरूले बेग्लाबेग्लै पार्टीका बैठक, भेला, छलफल तथा प्रशिक्षण भेला गर्दै आएका छन् । दुवै पक्षले समानान्तर गतिविधि गरिरहेका छन् ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षतर्फ बहुमत केन्द्रीय सदस्य उपस्थित बैठकले अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनायो । यस समूहका अर्का नेता पुष्पकमल दाहाल पनि अध्यक्ष छँदैछन् । अर्कातिर, प्रधानमन्त्री ओली अध्यक्ष रहेको समूहले आफ्नो बहुमत हुने गरेर केन्द्रीय समितिमा सदस्य थपेको छ । त्यसपछि एक पक्षले अर्को पक्षका नेताहरूलाई कारबाही गरेको निर्णयहरू गरिरहेका छन् । 

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध प्रचण्ड र माधवकुमार नेपाल समूह सडकदेखि सर्वोच्च अदालतसम्म पुगेको छ । प्रधानमन्त्री ओली पक्षले पनि देशव्यापी भेला गरेर आफ्नो पक्ष आक्रामक रूपमा नयाँ जनादेशको पक्षमा माहौल तताइराखेको छ । यही मेसोमा दुबैपक्षका नेताहरूबीच दैनिक जसो सडक, सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म आरोप प्रत्यारोपको श्रृखला चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा प्रतिनिधिसभा नै भङ्ग गर्नुपर्ने कुनै खास कारण बताउन सकेका छैनन् । आफ्नो पार्टीभित्रको किचलोको व्यवस्थापन गर्न नसकेकै कारण प्रतिनिधिसभा भङ्ग गरिएको उनकै सम्बोधनले बताउँछ । यस्तै विषयमा उनले अर्का अध्यक्ष प्रचण्ड लक्षित शब्दबाणहरु प्रहार गर्दै आएका छन् । 

‘पदलोलुप’ र ‘अस्थिरताका कारक’ ‘हत्यारा’ ‘सयौं नारीलाई विधवा बनाउने’ लगायतको अराजनीतिक आरोप प्रधानमन्त्री ओलीले गोलीझैँ बर्साउँदै आएका छन् । यताबाट प्रचण्डले पनि सोही अनुसार जवाफ फर्काइरहेका छन् । शक्तिको उन्माद र कुण्ठा मिसिएको बोली ओलीमा छदैँछ । उताबाट प्रचण्डले समेत दम्भ घमण्डमिश्रित उत्तेजित अभिव्यक्ति दिँदै आएका छन् ।

पोलिटिकल जोकर भर्सेस हत्यारा

राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस १८ र २५ मा भेला गरेर ओलीले प्रचण्ड– माधव पक्षमाथि कटु शब्द प्रहार गरे । अर्को पक्षले आफूमाथि कारबाही गरेको कार्की पार्टी प्यालेसमै गएर ओलीले फेरि कमेडी शैली दर्शकलाई हँसाएरै  आफू इतरलाई खसालेर बोले । हाँस्यरसले भरिपूर्ण त्यो मन्तव्यलाई  इतर समूहले ओलीलाई नै जोकरको संज्ञा दियो । प्रचण्डले त प्रधानमन्त्री ओलीलाई ‘पोलिटिकल जोकर’ को संज्ञा दिए ।

२९ पुसमा आफू पक्षीय काठमाडौं भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने ‘कहिलेकाहीँ साथीहरू जोकरमा परिणत हुनुभएछ क्यारे जस्तो लाग्छ। पोलिटिकल जोकर । जोकर जस्तो लाग्छ ।’ 

यसको जवाफ फेरि ओलीले फर्काए  ३ माघ शनिवार सार्वजनिक मञ्चबाटै । शनिवार काठमाडौंमा आयोजित आफूपक्षीय प्रदेश १ को कार्यकर्ताको भेलाबाट प्रचण्डलाई ओलीले भने ‘उहाँहरूलाई केपी ओलीले मान्छे हँसाउँदै हिँड्दा चिन्ता छ । के म मान्छे मार्दै, दुनियाँलाई रुवाउँदै हिँडौँ । उनीहरूले दुनियाँ रुवाएर । कसैको घोडा खोसेर रुवाए । कसैलाई गाडी खोसेर रुवाए । कसैको खेत खोस्या छ । कसैको घर र पैसा खोस्या छ । रुवाउने अनेक काइदा छन् । मारेर, कुटेर, लुटेर पनि रुवाएको छ । अनि मैले हँसाएँ भनेर कुरा गरिराखेका छन् । जता गए पनि हँसाएर मक्ख पार्‍यो भनेको छ । नेपाली जनता हाँस्दा किन पीर परेको हो ?’

ओलीको जवाफ लगतै फेरि प्रचण्ड जवाफ फर्काएका छन् उही शैलीमा । आइतबार  आफू पक्षीय अनेरास्ववियू बाग्मती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भने, ‘ उपलब्धिहरूको हत्या भएको बेला म हाँस्न सक्दिन ।’ 

आरोप प्रत्यारोपको श्रृखला चल्दै गर्दा प्रधानमन्त्री ओलीले एकदिन संभवत प्रचण्डको यो जवाफको खण्डन गर्ने नै छन् । ओलीले प्रचण्डलाई के प्रतिक्रिया देलान् उनका कार्यकर्तालगायतको चासोको विषय बनेको छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि