बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकी युवा ट्रम्प प्रशासनसँग कति सन्तुष्ट ?

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT
  • झाङ बेन्झोङ

धेरै साेच्छन्, तर बोल्न डराउँछन् -अमेरिकी युवा । आफ्नो करिअर सुरु गरेसँगै उनीहरु रक्षात्मक बन्छन, अर्थात् राजनीतिक प्रक्रिया बदल्न सक्ने उनीहरूको क्षमता कमजोर हुन्छ । 

यी युवाहरु सन् २००८ को वित्तीय संकटबाट अति प्रभावित छन् । शैक्षिक ऋणको ठूलो भारी, उच्च बेरोजगारी दर र घट्दो तलबको सिकार भएका युवाले पुँजीवादी प्रणालीको बेफाइदा र सामाजिक असमानतालाई टुलुटुलु हेरिरहेका छन् । 

राष्ट्रपतिको कार्यकाल सुरु गरेयता डोनाल्ड ट्रम्पले ल्याएका केही नीतिले अमेरिकी युवाको आशामा पानी छ्यापेको छ । कर कटौती र अनियमितताले ठूला व्यवसायी र धनाढ्यलाई फाइदा पुग्ने धेरैजसो युवाको विश्लेषण छ । ओबामा केयर हटाउने, गर्भपतनविरोधी अभियान र अवैध आप्रवासीमाथिको आक्रमण युवाको माग विपरीत छ ।

ठूलो संख्यामा युवाहरू वातावरण संरक्षणमा लागेका छन् । उनीहरू यस ग्रह र मनुष्यको भविष्यका विषयमा चिन्तित छन् । पेरिस जलवायु सम्झौताबाट बाहिरिने ट्रम्पको योजना यसविपरीत छ । तसर्थ, ट्रम्पको व्यक्तित्वले राजनीतिमा युवाको माग सम्बोधन गर्न सकिरहेको छैन । 
अमेरिकी राजनीतिमा युवाको असन्तुष्टि भोटमार्फत झल्किएको छ ।

टेफ्टस् विश्वविद्यालयको नयाँ अनुसन्धान प्रतिवेदनअनुसार  सन् २०१८ को मध्यावधि चुनावमा (१८ देखि २९ ) वर्ष उमेर समूहका युवामध्ये ६७ प्रतिशतले डेमोक्र्याटिक उम्मेदवारलाई मतदान गरे भने ३२ प्रतिशतले मात्रै रिपब्लिकनलाई मत खसाले । ३५ प्रतिशतको यो भिन्नताले यसै वर्षको अन्त्यमा हुने राष्ट्रपतीय निर्वाचनमा अर्थराख्नसक्ने  अनुसन्धानकर्ताको विश्लेषण छ । 

अमेरिकी तल्लो सदन र सिनेटमा बढ्दो संख्यामा रहेका युवाले अमेरिकी युवाको मागलाई राजनीतिक वृत्तमा ल्याइरहेका छन् । जस्तो, युवाकै मतका बलमा अलेक्ज्यान्द्रिया ओकासियो कोर्टेज अमेरिकी कंग्रेसमा निर्वाचित हुने कान्छी महिला बनेकी छिन् । उनी सन् २०१६ को राष्ट्रपति चुनावमा बर्नी स्यान्डर्सकी सहयोगी थिइन् । उनले पुँजीवादी प्रणालीलाई आशारहित भनेकी छिन् ।

आप्रवासन तथा ‘कस्टुम्स इन्फोर्समेन्ट एजेन्सी’ खारेज गर्न चाहेकी छिन् । त्यस्तै, पेट्रोल, कोइला, प्राकृतिक ग्यासलगायत इन्धनको उत्पादन १० वर्षभित्र रोक्नुपर्ने वकालत गर्दै आएकी छिन् । यो ट्रम्पको नीतिविरुद्ध छ । सञ्चार माध्यममा छाएकी कोर्टेज डेमोक्र्याटिक पार्टीकी स्टार बनिसकेकी छिन् । युवा अमेरिकीको बढ्दो मत डेमोक्र्याटको सबल पक्ष हो । तर, यो लहर कायमै रहन्छ भन्ने अनिश्चित छ । 

सामाजिक अभियानमा युवा सुरुमा अभ्यस्त देखिन्छन्, तर बिस्तारै उनीहरूको जोस सेलाउँदै जान्छ । सर्वेक्षणअनुसार अल्पसंख्यक युवा अमेरिकी मात्रै आफ्नो मतले सामाजिक प्रणाली बदल्न सक्ने विश्वास गर्छन् । उनीहरूले सानैदेखि राजनीतिक विभाजन र दलहरूबीचको विभेद देख्दै आएका छन्, राजनीतिमा उनीहरूको आत्मविश्वास घटाउन यही पर्याप्त छ । 

युवाको मत खसाल्ने इच्छा घट्दै गयो र उनीहरू राजनीतिबाट टाढा भए भने अमेरिकी राजनीतिमा उनीहरूको प्रभाव पनि छिटै गुम्नेछ । यस्तो अवस्थामा उनीहरूले चिन्ता गरेका समस्याको समाधान अझै जटिल बनेर जानेछ । 

युवा सक्रिय छन् भन्दैमा उनीहरूको राजनीतिक प्रभावलाई अति आँक्न मिल्दैन ।  अमेरिकी निर्वाचनको कुल आँकडालाई आधार मान्ने हो भने आज पनि युवा मतदाताको संख्या धेरै ठूलो होइन । त्यसैले डेमोक्र्याटिक पार्टीले जित्न चाहन्छ भने अल्पसंख्यक आदिवासी, महिला र बहुसंख्यक श्वेत मतदातामा पनि ध्यान दिन जरुरी छ । युवाले हलचल ल्याउन त सक्छन्, तर, राजनीतिमा पकड कायम गर्न अझै कठिन छ

(लेखक चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्समा कार्यरत छिन् । उनी अमेरिकन स्टडिजकी निर्देशक हुन् । यो लेख चीनियाँ सञ्चारमाध्यम ग्लोबल टाइमस्बाट साभार गरिएको हाे ।)


कस्तो लाग्यो ?

यो पनि