बैशाख १५, २०८१, शनिबार
               

मोडलिङमा कमब्याक सोनाम गुरुङ

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात् मोडलिङमा रमाउन नचाहने युवा पुस्ता सायद कमै होलान् । प्रिय र  चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै, चाहना लिएर मोडलिङको भीडमा आफूलाई स्थापित गराउन योजनाका साथ अगाडि बढ्दै गरेको अर्को नाम हो सोनाम गुरुङ । उनी शिखरको चुचुरोमा पुग्न दिनरात मिहिनेत गरिरहेकी छिन् ।उनले मिहिनेतअनुरुप सफलता पनि हात पर्दै गइरहेकी छिन् । 

जुनसुकै विधामा मेहिनेत र परिश्रमबिना सफलता पाउन असम्भव छ ।कला क्षेत्र पनि यस्तो विधा हो जहाँ मिहिनेतविना सफलता असम्भव नै हुन्छ । त्यहीअनुसार आफ्नो क्षमता प्रदर्शन गर्न फेरि कम व्याक भएकी  छिन् सोनाम गुरुङ ।

लक नै भन्नुपर्छ उनले सुरुमै खेलेका लोक भिडियो चर्चित छ । उनी निक्कै पहिला सुन्तला र स्याउ’ मा अभिनय गरेर चर्चामा आएकी थिइन् ।
एकोहारो हेरिरहन्छ च्याङबाले मलाई मार्याे, ए होई माइली ए होई साइलीलगायत तामाङ सेलोमा उनले नृत्य पनि गरेकी छिन् । लामो समयपछि उनी म्युजिक भिडियोको अभिनयमा फर्किएकी हुन् । करिब आधादर्जन हाराहारी गीतको भिडियोमा अभिनय गर्दागर्दै जागिरको सिलसिलामा अल्झिएकी सोनामले नयाँ गीतमा अभिनय गर्न लागेको बताइन् । हालै उनले चर्चित लोक तथा दोहोरी गायक राजु परियारको ‘तिम्रो रुपैले’ भन्ने गीतमा अभिनय गरेकी छिन् । जुन छिट्टै सार्वजनिक हुँदै छ ।

स्याङ्जाको काउलेमा जन्मिएकी मोडल गुरुङले ०५९ सालमा शशस्त्र प्रहरी एपिएफ क्लबको सांस्कृतिक शाखामा सेवा प्रवेश गरिन् । उनी  सो क्षेत्रबाट अवकास भएको दुई वर्ष पुगेको छ ।

उनी कलामा अब्बल भएकाले युएन मिसन साउथ सुडानमा समेत जाने अवसर पाइन् । उनले सांगीतिक कार्यक्रमकै सिलसिलामा ४ पटक कोरिया,  २ पटक हङकङमा २ पटक, सिंगापुरमा ३ पटक, कतारमा २ पटक र कुवेत समेत पुगेकी छिन् ।

यसअघि सेवामा रहँदा विभिन्न देशका स्टेज कार्यक्रममा व्यस्त भएकाले म्युजिक भिडियोमा समय दिन नसकेको उनले सुनाइन् । अब भने म्युजिक भिडियोको अभिनयबाट आफ्नो करियरलाई निरन्तरता दिने उद्देश्य बोकेको उनको भनाइ छ । बाल्यकालदेखि नै कलाकारितामा भविष्य देखेकाले यो क्षेत्र त्याग्न नसकेको गुरुङले बताइन् । 

यस क्षेत्रमा आउन उनकै दिदी नेपाल पुलिस क्लबको कलाकार जालुमाया गुरुङ प्रेरणाको स्रोतबाट यस क्षेत्रमा आएको उनले बताइन् ।निर्देशक तथा मोडल शंकर बिसी, गायक प्रेम लोप्चन र वरिष्ठ कलाकार मिथिला शर्माको साथ रहेको बताउँदै उनले अब सहजै रुपमा अघि बढ्न सक्नेमा ढुक्क भएको बताइन् । उनले भिडियोका विभिन्न बिटका गीतमा नृत्य गर्न सक्ने पनि गुरुङले बताइन् ।

आफ्नो बुबाआमा कलाकार भएको र श्रीमानबाट पनि कला क्षेत्रमा साथ र समर्थन मिलेको उनी बताउँछिन् । ‘घर परिवारका सबै सदस्यबाट  मलाई ठूलो साथ मिलेको छ,’ गुरुङले भनिन्, ‘म्युजिक भिडियोमा अभिनयसँगै अन्य पेशाजस्तै अरुलाई नृत्य पनि सिकाउँदै यही कलाकारितालाई प्रथामिकता दिएर भविष्य यसैमा गुजार्ने सोचेकी छु ।’

चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनीको आकर्षण हो । उनी मिहिनेतका साथ अभिनय र कलालाई निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् । सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने उनी आफूलाई अब्बल दर्जामा राख्न कोसिसरत छिन ।

यसअघि प्रहरी सेवामा रहदाँ पनि नेपाली कला संस्कृति रीतिरिवाज जगेर्ना गर्ने भूमिकामा रहेकी उनी अवकासपछिको कला क्षेत्रको जीवन पनि त्यसैगरी गुजार्ने सोचमा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘अहिलेसम्मको जीवन देशलाई सेवा गरियो, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’

यो पनि