बैशाख १४, २०८१, शुक्रबार
               

नेकपामा वामदेवको युटर्न, फेरिएको समिकरणले टर्ला त सङ्कट ?

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा नयाँ समिकरण बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने पक्षमा वकालत गर्दै आएका नेताहरू युटर्न भएका छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका उपाध्यक्ष वामदेव गौतमले ओलीले राजीनामा दिनु नपर्ने पक्षमा पुगेका छन् ।

यसअघि अर्का अध्यक्ष प्रचण्डको कित्तामा रहेर प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै अलग भेला र छलफलमा सहभागी हुँदै आएका गौतम युटर्न भएका हुन् । प्रधानमन्त्री ओलीले मङ्गलवार बस्ने भनिएको स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेपछि गौतमले विज्ञप्ति जारी गर्दै ओलीको साथमा आफू रहेको जनाउ दिएका हुन् ।

खुमलटार भेलामा स्थायी रूपमै क्याम्प परिवर्तन गरेका गौतमले विज्ञप्तिमार्फत पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै प्रधानमन्त्री पूरा कार्यकाल रहने र माहधिवेशनपछि अध्यक्ष पद हस्तान्तरण गर्ने ओलीकै प्रस्तावमा सहमति जनाएका छन् । 

गौतम तिनै नेता हुन् जो अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको ओली इतर भेलामा प्राय छुट्दैनथिए । गौतम सचिवालय सदस्य समेत हुन् । गौतमले विज्ञप्ति जारी गर्दै खुला रुपमा ओलीकै पक्षमा आएपछि सचिवालयमा नयाँ समीकरण देखा परेको नेताहरू बताउँछन् । 

‘ऋतु परिवर्तन हुन लाग्दा चराहरू चिसो ठाउँबाट न्यानो ठाउँतिर बसाइ सर्छन्, बामदेव कामरेड पनि ऋतु परिवर्तन हुन लागेको थाहा पाएर सबैभन्दा पहिला ठाउँ छाडेर अन्त उड्ने चराजस्तै हुन् ।’

नेकपाका एक स्थायी समिति सदस्य 'गौतममा पार्टीभित्रको राजनीति सुँघ्न सक्ने क्षमता निकै तीक्ष्ण भएको' बताउँछन् । ती स्थायी कमिटी सदस्यले नेपाल फ्ल्याससँग भने ‘ऋतु परिवर्तन हुन लाग्दा चराहरू चिसो ठाउँबाट न्यानो ठाउँतिर बसाइ सर्छन्, बामदेव कामरेड पनि ऋतु परिवर्तन हुन लागेको थाहा पाएर सबैभन्दा पहिला ठाउँ छाडेर अन्त उड्ने चराजस्तै हुन् ।’

पछिल्लो पटक प्रचण्ड निवास खुमलटारमा हुँदै आएको ओली इतर पक्षको छलफलमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा समेत सहभागी हुन छाडेका छन् । ओली प्रधानमन्त्रीबाट नहट्ने सङ्केत पाएपछि थापा फेरि ओलीकै पक्षमा आएका बुझिएको छ । थापा पनि नेकपाभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमको मूल्याङ्कन गरेर अर्को क्याम्पतिर लागेकाे बताइन्छ ।

पछिल्ला घटनाक्रमले प्रचण्ड-माधव नेपाल समूह सचिवालय भित्रै अल्पमतमा पर्ने सम्भावना देखिएको नेताहरूको दाबी छ । ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओलीका ईश्वर पोखरेल, विष्णु पौडेल मुख्य सारथि हुन् । अहिले गौतम र बादल पनि ओलीकै पक्षमा देखिएपछि प्रचण्ड र नेपाल पक्ष अल्पमतमा देखिन्छ । पछिल्लो समिकरण अनुसार उनीहरूको साथमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र देखिन्छन् ।

तत्काल टरेको ओलीको सत्ता सङ्कट

पार्टीभित्र प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरूले राजीनामा मागेपछि उत्पन्न सत्ता सङ्कटलाई ओलीले राजनीतिक चातुर्यता देखाउँदै गौतमलाई आफ्नो पक्षमा पारेर सङ्कट टारेका छन् । नेकपाको शक्तिशाली निकाय सचिवालयमा बदलिएको समिकरणले प्रधानमन्त्री ओलीको सत्ता सङ्कटलाई तत्काल टारेको धेरैको विश्लेषण छ ।

अरू नेताहरूले दुबै पद (प्रधानमन्त्री र पार्टी अध्यक्ष) बाट राजीनामा माग्दै गर्दा ओलीले कुनै पनि पद नछाड्ने अडान लिएका थिए । बरु मङ्सिरमा अर्लि महाधिवेशन गर्ने र अध्यक्ष पद हस्तान्तरण गर्ने प्रस्ताव ओलीले राखेका थिए । पाँचै बर्ष आफू प्रधानमन्त्री हुने, पद नछाड्ने अडान राखेका थिए उनले । यही विवाद चर्किँदै जाँदा गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् । 

प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव  छ । यो निर्णय गत मङ्सिरमै सचिवालय बैठकले गरेको थियो । त्यसयता ओलीको अनुपस्थितिमा प्रचण्डले एकल रूपमै कतिपय बैठकको अध्यक्षता गर्दै आएका थिए ।
पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनिकका काममा हस्तक्षेप नगर्ने गौतमको अर्को प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरूमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत प्रस्तावमा उल्लेख छ ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिनुपर्ने गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरू पार्टी कार्यालयमा मात्रै गर्नुपर्ने उनको प्रस्ताव छ ।

नेकपामा देखिएको आन्तरिक विवाद झन् पेचिलो बन्दै गइरहँदा गौतमको यस्तो प्रस्ताव आएको हो ।

यो पनि