बैशाख ०७, २०८१, शुक्रबार
               

माधव नेपालका तीन विकल्प : आत्मसमर्पण, विद्रोह  र कम्परमाइज

ADVERTISEMENT

नेकपा एमालेको संस्थापन पक्षले कारबाही गरेपछि वरिष्ठ नेता माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए । 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेकाले जवाफस्वरूप कस्तो रणनीति तय गर्ने भन्ने विषयमा छलफल हुन लागेको नेताहरु बताउँछन् ।

यसअघि एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठकले गुटगत भेला गरेर पार्टी विरोधी गतिविधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  स्पष्टीकरण चित्त नबुझेको भन्दै नेपाल र रावललाई निलम्वन गरिएको संस्थापन पक्षले जनाएको छ । उनीहरु पार्टीको साधारण सदस्य नरहने गरी निलम्वन गरिएको  छ।

नेकपा एमालेको केन्द्रीय समिति र संसदीय दलमा नेपाल पक्ष अल्पमतमा छ । अल्पमतमा भएपछि कि ओलीले जे–जे भन्छन् र गर्छन् त्यो मान्दै बस्नुपर्‍यो कि विद्रोह । अहिले ओलीले बहुमतमा नेपाल र रावललाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्वन गरिसकेका छन् । तर, माधव पक्ष त्यो कारबाही मानेर बस्ने मुडमा भने छैन । ओली नसच्चिए विद्रोह गर्ने मनस्थिति बनाएको यो पक्षले के गर्ला चासोको विषय बनेको छ । अहिलेसम्मको अवस्था हेर्दा दुई पक्ष कम्परमाइजका लागि तयार छैनन् । यसकारण नेपाल पक्ष आत्मसमर्पण वा विद्रोहतर्फ जानैपर्छ ।

तल्लो तहसम्म समानान्तर कमिटी बनाएर विद्रोह

नेपाल पक्षले यो कारबाहीलाई अवैधानिक, अलोकतान्त्रिक र पार्टी विभाजन गर्ने षडयन्त्र भन्न सक्छ । साथै नेपाल पक्षले गुटको बैठक राखेर संस्थापनको निर्णयविरुद्ध आक्रामक रुपमा पार्टीका तल्ला कमिटीको समानान्तर संठन निर्माणतर्फ लाग्न सक्छ । यसबीचमा नेपाल पक्षले जनवर्गीय संठनका भेला बेलाई अलग नेतृत्व चयन प्रक्रिया जारी राखेको छ । अब जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटी बनाउने क्रम बढेको छ । यसैलाई तीव्रता दिने नेपाल पक्षको मनसाय हुनसक्छ ।

नेपाल पक्षका एक नेता भन्छन्, ‘नेपाल पक्षमा एमालेभित्रै बसेर संघर्ष गर्ने कि तल्ला तहसम्म कमिटी पुनर्गठन गरेर माओवादीसँग पुनः एकतामा जाने भन्ने दुवै कोणबाट बहस चलेका छन् । तर, नेताहरु केही समय एमालेमै समानान्तर कमिटीहरूको अभ्यास गरेर अन्तरसंघर्षलाई उत्कर्षमा पुर्‍याउने  पक्षमा देखिन्छन् ।’

तर, सहज छैन विद्रोह

कुनै चमत्कार नभए नेकपा एमाले सग्लो रहँदैन । यसको संकेत देखा परिसकेको छ । तर, अहिलेको अवस्था र अंक गणित हेर्दा नेपाल पक्षलाई विद्रोह गर्न सहज छैन । किनभने पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्ने हुन्छ । त्यसका लागि माधव नेपाल पक्षसँग केन्द्रीय समितिमा ४० प्रतिशत पुगे पनि संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन केही सांसद आवश्यक पर्छ । एमालेमा १२१ जना सांसद छन् । यसको ४० प्रतिशत भनेको झन्डै ४८ जना हुन आउँछ  । तर, अहिले नेपाल पक्षसँग ३८ देखि ४० जनासम्म सांसद मात्रै खुलेका छन् । 

विश्लेषकहरू भन्छन्, ‘पार्टीभित्रको संस्थापन पक्ष ओलीले नै म तिमीहरूलाई सिद्ध्याउनु, भनेर नेपाल पक्षलाई कारबाही गरेको अवस्था छ । अब माधव पक्षले कि त  आत्मसमर्पण गदृै कारबाही सहनुपर्ला । होइन भने आफ्नो पक्षमा रहेका सांसदको संसद पद त्यागेर विद्रोह नै गर्नुपर्‍यो।’ 

त्यस्तो अवस्थामा पार्टीभित्रै विद्रोहको एउटा अवस्था रहन्छ भने अर्को पार्टी फुट्ने अवस्था रहन्छ । उनले पार्टीमा विद्रोह कायम रहिरहे एमाले कमजोर रहनेछ । एमाले कमजोर हुँदा ओलीको शक्ति क्षयीकरणतर्फ जानेछ । यदि नेपाल पक्षले पार्टी फुटाए भने नोपल पक्षसँग सांसद रहँदैनन् । तर, एमालेको सांसद संख्या घट्नेछ ।

यसले गर्दा सत्ता समीकरणमा समेत असर पर्न सक्छ । जसरी अहिले एमालेको सांसद संख्या एक सय २० हुँदा १५ जना अरू सांसद भए पनि सरकार टिक्छ, पार्टी फुटेमा त्यो अवस्था हुँदैन । यसकारण ओलीको सरकार लम्बिने अवस्था नरहने विश्लेषकले औँल्याएका छन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि