मंसिर ०६, २०८१, बिहीबार
               

मधेश किन सधैँ अशान्त ?

ADVERTISEMENT

आइतबार दिउँसो सिरहा लहानस्थित मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भयो । विस्फोटमा परी सात जना घाइते भए । एक घाइतेको अवस्था गम्भीर छ ।

बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। उक्त समूहका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै आफूहरुले भ्रष्टचारको विरोधमा बम बिस्फोट गराएको दाबी गरेको छ। भ्रष्टचार जारी रहे अझै उच्च स्तरको कारबाही गर्ने चेतावनी उक्त समूहले दिएको छ।

यसअघि सोही समूहले मोरङको विराटनगर महानगरपालिकाको कार्यालय, सर्लाही जिल्लाको मलंगवास्थित नापी कार्यालयलगायत सरकारी कार्यालयमा बम विस्फोट गराएको थियो ।

सशस्त्र समूहको उदय

११ साउन ०६१ मा तत्कालीन माओवादी नेता जयकृष्ण गोइतले विज्ञप्ति निकाली मधेशमा हिसात्मक आन्दोलन सुरु भएको उद्घोष गरेका थिए । आइतबारको लहान मालपोतमा विस्फोट गराइएको स्थानमा उनैले नेतृत्व गरेको समूहको पर्चा भेटिएको छ । 

११ साउन ०६१ मा उनै गोहीतले नेपालमा ‘तेस्रो बन्दुक’ को उदय भएको घोषणा गरेपछि मधेशमा सशस्त्र राजनीति सुरु भएको मानिन्छ । उनी त्यसअघि माओवादीको भातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष थिए । ३० असार ०६१ मा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले मधेशी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्षमा मातृका यादवलाई जिम्मेवारी दियो । मातृकालाई जिम्मेवारी दिएपछि गोहित असन्तुष्ट भए ।

सोही निर्णयप्रति असहमति जनाउँदै गोइतले १२ दिनपछि अर्को आन्दोलनको घोषणा गरे । तत्कालीन माओवादीकै केही कार्यकर्ता लिएर विहारको मधुवनी जिल्लामा पर्ने ‘विक्रमशेर गाविस’ पुगेर ‘स्वतन्त्र तराई’को माग गर्दै सशस्त्र आन्दोलनको घोषणा गरेका थिए ।

त्यो समयमा सो समूह निक्कै सानो थियो । तर, मधेशमा गोइतले छरेको बिउ थियो । सो हिंसात्मक बिउ यति ‘सप्रियो’ कि मुलुक शान्ति प्रक्रियाकै चरणमा रहँदा थुप्रै सशस्त्र समूह जन्मिए । अनि, केही समयपछि थन्किए पनि  ।

मधेश आन्दोलन (फाइल फोटो)

माओवादीको सिको गर्दा मधेशको सशस्त्र राजनीति गलत बाटोमा 

सशस्त्र समूहका नाममा विस्फोट, गोली प्रहार, चन्दा आतंक, हत्या र अपहरणको कुनै सीमा रहेन । तत्कालीन विद्रोही माओवादीलाई औपचारिक रूपमा शान्ति प्रक्रियामा ल्याएपछि माओवादीले हतियार बिसाए पनि मधेशी भूमिगत संगठनका गतिविधि भने झनै बढ्यो । २०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही माओवादीलाई औपचारिक रूपमा शान्ति प्रक्रियामा ल्याउँदै गर्दा तराई–मधेशमा भित्रभित्रै असन्तुष्टिको आगो झनै दन्किएको नेपाली काङ्ग्रेसकी नेतृ चित्रलेखा यादव बताउँछिन् । 

२०६३ को शान्ति प्रक्रियासँगै अन्तरिम संविधान निर्माण प्रक्रिया बढेको थियो । जसप्रति असन्तुष्ट रहेका मधेशका आन्दोलनरत शक्तिले अझै हिंसा मच्चाएका थिए ।

चित्रलेखा यादव, नेतृ, नेपाली कांग्रेस

‘द्वन्द्वारत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा निर्वाचनबाट जितेको तत्कालीन एमाले हाराहारीमा माओवादीलाई संसदमा सिट दिइयो । तर, मधेश केन्द्रित आन्दोलन गरिरहेका सबै शक्तिलाई बेवास्ता गरियो,’ प्रतिनिधिसभा निर्वाचनमा सिराहाबाट समानुपातिकतर्फ निर्वाचित सांसदसमेत रहेकी यादव भन्छिन्, ‘विध्वंस, हिंसा गरेपछि मात्रै राज्यले माग सम्बोधन गर्ने रहेछ, निती निर्माण गर्ने ठाउँमा पुगिदो रहेछ भन्ने लागेर मधेशकेन्द्रित केही शक्ति हिंसात्मक आन्दोलनमा लागेको देखिएको छ ।’

अन्तरिम संविधान बन्दै गर्दा मधेशमा नेपाल सद्भावना आनन्ददेवीबाहेक अरू राजनीतिक दलको उदय भइसकेको थिएन । विभिन्न राजनीतिक दलमा आबद्ध मधेशी नेता आ–आफ्नै दलबाट मधेशका मुद्दा अगाडि सार्थे । सद्भावना पार्टी पनि सात दलीय मोर्चामै सहभागी थियो । अन्तरिम संविधान निर्माणका क्रममा भएका बैठकमा उसको सहभागिता हुन्थ्यो । तर, मधेशको माग पूरा नभएको भन्दै गोइतगायत समूहले हिंसात्मक आन्दोलन गरिरहेका थिए ।

हिंसात्मक आन्दोलनमा विदेशीको स्वार्थले मलजल 

गोइतकै कारण मधेशको सशस्त्र राजनीति गलत बाटोमा गएको मधेशका नेता बताउँछन् । पछि गोइत समूहकै रामविलास यादवले छुट्टै अखिल तराई मुक्ति मोर्चा गठन गरे । द्वन्द्वकालमा माओवादी पार्टीमै रहँदा जग्गा विवादमा मुछिएका नगेन्द्र पासवान (ज्वालासिंह) पनि गोइत समूहकै प्रमुख सहयोगी थिए । तर, गोइतको व्यक्तिगत व्यवहारप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले अर्को छुट्टै समूह खोले ।

तराईमा यसरी सशस्त्र समूह फुट्ने क्रमसँगै एक सय नौ वटा समूह भए । गृह मन्त्रालयले झन्डै एक सय नौ  समूह पुगेको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

मधेश आन्दोलनका क्रममा ती सशस्त्र समूहलाई वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा ल्याउने कुरा भयो । मधेश विद्रोह, मधेशको आन्दोलन तथा हिंसात्मक आन्दोलन बुझेका एक मधेशी नेता भन्छन्, ‘भारतको खुफिया एजेन्सी ‘रअ’को स्वार्थले मलजल गरेको कारण सशस्त्र समूह बढे, शान्ति प्रक्रियामा आउन समय लाग्यो ।’

सरकारले पटकपटक केही सशस्त्र समूहसँग वार्ता पनि गर्‍यो । केहीले हतियार बुझाए  । पछिल्लो पटक केपी शर्मा ओलीले शसस्त्रद्वन्द्वरत समूहसँग वार्ता गर्दै शान्तिपूर्ण राजनीतिमा ल्याउन भन्दै वार्ता समूह गठन गरेको थियो । सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले केही भूमिगत समूहसँग वार्ता गर्‍यो । सो समयमा जयकृष्ण गोइत समूहका केही नेताले हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिकमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

को हुन् जयाकृष्ण गोइत ?

सप्तरी घर भएका जयकृष्ण गोइत पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वतन्त्र तराई अर्थात् तराईलाई अलग देश बनाउने भन्दै गोइत २०६१ साउन १० मा भूमिगत भएका हुन् ।

हाल उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) नामक संगठनका अध्यक्ष हुन् । यसअघि उनले किसान आन्दोलन, सर्वहारामुक्ति आन्दोलन र माओवादी जनयुद्धसमेत लडे । 

जयकृष्ण गोइत, अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)

माओवादीसमेत तराई/मधेससँग विभेद गरिरहेको भन्दै उनी अलगै मोर्चा बनाएर भूमिगत भएका हुन् । एक स्रोतका अनुसार हाल भूमिगतरुपमा उनी भारतमा बस्दै आएका छन् । 

को-को छन् भूमिगत संगठन

सरकारले केही भूमिगत सगठनसँग वार्ता गरी मूलधारमा ल्याएको छ। कतिपयले आत्मसमर्पण गरेका छन् । केहीलाई पक्राउ गरी भारतले नेपाललाई बुझाएको छ । तर, सशस्त्र समूहका मुख्य नेता भने अझै पक्राउ पर्न सकेका छैनन् । गृहमनत्रालयका अनुसार यसरी पक्राउ पर्न नसक्नेहरुमा अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत, जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह समूह)का अध्यक्ष नागेन्द्र पासवान छन् । उनीहरूले भूमिगत रुपमानै विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छन् ।

मधेशको माग पूरा गर्नै लाग्दा किन असन्तुष्ट ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशकेन्द्रित दल जनता समाजवादी पार्टीका नेतासँग मधेशका माग पूरा गर्ने भन्दै वार्ता टोली गठन गरेका छन् । मधेशकेन्द्रित दलले लामो समयदेखि उठाउँदै आएको माग संविधान संशोधनमार्फत् पूरा गर्ने उनको प्रतिबद्धता छ । 

पछिल्लो सामय मधेश पहिलाको तुलनामा शान्त बन्दै गएको थियो । वार्ताको माध्यबाट केही भूमिगत आन्दोलनरत शक्ति राजनीतिक मूलधारमा आएका र हत्या हिंसा तथा अन्य सामाजिक अपराधमा प्रहरीको निगरानीसँगै मधेश शान्त थियो । यद्यपि पछिल्लो सिरहा घटनाले पुनः मधेश अशान्त बन्ने संकेत देखिएको छ । विगतमा भएको ठुलो नरसंहार, संविधान जारीताकाको लामो बन्दहड्तालबाट शान्तिपूर्ण बनेको मधेश फेरि  किन असन्तुष्ट छ ? गम्भीर समीक्षा आवश्यक छ । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि