बैशाख ०८, २०८१, शनिबार
               

प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला फेरे पनि पूर्वप्रधानमन्त्रीहरु पेट दुख्दा विदेशतिर
स्वास्थ्य उपचार कि राजनीतिक उपचारका लागि दिल्ली ?

ADVERTISEMENT
  • २० पुसमा  नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दिल्ली गए । पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बई गएका थिए । फर्कँदा दिल्लीमा केही दिन बसे । राजनीतिक भेटघाटसमेत गरेर उनी चार दिनपछि स्वदशे फर्किए ।
  • ३०माघमा प्रचण्ड–नेपाल पक्षीय नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँदिल्ली गए । स्वास्थ्य उपचारका लागि भन्दै दिल्ली गएका उनी फागुन ८ मा स्वदेश फर्किए । 
  • पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार नयाँदिल्ली गए । पेटको उपचार गराउन दिल्ली गएको उनको भनाइ छ।

नेपाली नेताहरु राजनीतिक कुरामा विदेशीको भर पर्ने गरेको चलन त पहिलादेखिको नै हो । तर, सामान्य उपचारमा पनि नेता विदेशमुखी हुन थालिसकेका छन् । नेपाली राजनीतिमा सफलता पाउन विदेशी विषेशगरी दिल्लीको कृपा चाहिने ओपन सेक्रेट विषय हो । तर, उपचारमा समेत नेता दिल्लीकै भरमा रहेको स्वयं उनीहरूले स्पष्ट पारेका छन् । 

प्रतिनिधिसभा विघटनपछि लगातार तीन पूर्वप्रधानमन्त्री उपचारका लागि भारत गए । धेरै जटिल रोगको उपचार नेपालमा सम्भव हुने भए पनि उनीहरु दुखेको पेटको उपचार गराउन विदेशम गएका छन् । 

यद्यपि एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्तै जटिल मानिएको मिर्गौला प्रत्यारोपण भने स्वदेशमै गरेका थिए । पहिलोपटक मिर्गौला प्रत्यारोपण विदेशमा गराएका ओलीले दोस्रो पटक भने स्वदेशमै गरेका हुन् । उनलेन गत फगुनमा नेपालमै आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए । 

स्वदेशमै उपचार गराएर प्रधानमन्त्रीले राष्ट्रियता र राष्ट्र प्रेमको भाव देखाएको आमजनतासरह आफूलाई राखेको भन्दै उनको प्रशंसा भएको थियो । तर, अहिले मुलुकको तरल राजनीतिक अवस्थामा सामान्य उपचारको बहानामा पूर्वप्रधानमन्त्रीको विदेश भ्रमणको आलोचना भइरहेको छ । 

नेपालमा पनि अन्तर्राष्ट्रियकरण अस्पताल छन् । कतिपय अस्पताल निर्माण हुने क्रममा पनि छन् । अन्तर्राष्ट्रियकरण अस्पतालजत्तिकै सुविधासम्पन्न अस्पताल नेपालमा हुँदाहुँदै पनि उपचारका लागि भन्दै किन दिल्ली जाँदैछन् त ? अधिकांश नेपालीले उपचार गराउने नेपालका अस्पतालमा उपचार नै गराउन नहुने कारण के हुन सक्छ नेताहरूका लागि ? प्रधानमन्त्रीले मिर्गौला प्रत्यरोप नेपालमै गराउँदा अरूलाई भने पेट दुख्दासमेत किन दिल्ली जानुपर्याे ? 

यसको जवाफमा धेरैले आशङ्का गरेका छन्, ‘विदेश जानुपर्ने कारणमा स्वास्थ्यको उपचार कम र राजनीति उपचार बढी हुन सक्दछ ।’

यसअघि पनि नेताहरु उपचारको बहानामा राजनीतिक भेटघाटका लागि विदेशी पुग्ने गरेका तथ्य सार्वजनिक भएका थिए । तैपनि सबै नेता आफू उपचारकै निमित्त विदेश गएको दाबी गरिरहेका हुन्छन् । 

नेपालमा संसद् विघटन भएपछि अन्तर्राष्ट्रिय समुदायले यसबारेमा मुख नखोलेको भन्दै प्रचण्डले आपत्ति जनाएका थिए । एक टेलिभिजन कार्यक्रममा प्रचण्डले ‘भारत, चीन, अमेरिका, बेलायतलगायत युरोपेली राष्ट्रलाई नेपालमा लोकतन्त्रको हत्या भएकाले बोल्न र साथ दिन’ आग्रह गरेका थिए । 

लगतै उनी पत्नी सीताको उपचारका लागि भन्दै भारत गएका थिए । सोसँगै उनको आलोचना सुरु भएको थियो। उनी पत्नीको उपचारको लागि मुम्बई पुगेका थिए । फर्कँदा उनी दिल्लीमा केही दिन बसे ।

स्वदेश फर्किएपछि उनले राजनीतिक भेटघाट नगरेको दाबी गरे । नेपालको प्रतिनिधिसभा पुन स्थापनाको पक्षमा अन्तरवार्ता तथा आमसभामा खुलेआम भारतलगायत विदेशी शक्तिको शरण मागेका उनले भारतमै गएर राजनीतिक भेट गरेनन् भन्ने उनको दाबीलाई धेरैले पत्याएनन् । 

भारतलाई गुहारेका प्रचण्डले राजनीतिक भेट गरेनन् होला ?

भारतबाट फर्किएका प्रचण्डले एक आमसभामा भनेका थिए, ‘सबै अन्तर्राष्ट्रिय हाम्रा मित्र देश, खासगरी हाम्रा छिमेकी, संसारकै सबभन्दा ठुलो हाम्रो लोकतन्त्र भन्ने छिमेकीबाट यो बेलामा हामीले सबै संसारभरिका लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरूबाट सहयोग र सद्भाव चाहेका छौँ । दायाँ–बायाँ हुने छैन भन्ने भरोसामा छौँ हामी ।’ 

२०६६ वैशाखमा आफू नेतृत्वको सरकार तत्कालीन भारतीय संस्थापन पक्षले नै ढालिदिएको भन्दै प्रचण्डले आक्रोश पोखेका थिए । विश्लेषकहरू भन्छन्, ‘प्रचण्डले त्यसबेला ‘भारतलाई देखाइदिन्छु’ भन्दै घुर्की लगाएका थिए। तर, एक दशकपछि उनै प्रचण्ड नेपालको आन्तरिक मामिलामा उसै भारतको हस्तक्षेप खोज्दैछन् ।  खुलेआम समर्थन माग्ने उनको भारत भ्रमण राजनीतिक उपचारकै लागि थियो भन्नेमा शङ्का छ र ?’

खनाल र भट्टराईको भ्रमण पनि शङ्कामा

संसद् पुन स्थापनको पक्षमा आन्दोलन जारी रहँदा प्रचण्डको भारत भ्रमणलाई लिएर अनेकथरिका विश्लेषण भइरहँदा पुन: सोही पक्षका अर्का वरिष्ठ नेता झलनाथ खनालको भारत भ्रमण भयो । खनाल शनिबार मात्रै स्वदेश फर्किएका छन् । खनाल पनि भारत किन गए भन्ने कौतूहल एकातिर छ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको भारत भ्रमणको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ । उनको अचानक दिल्ली भ्रमणले धेरैलाई शङ्काको सुविधा दिएको छ । सामाजिकसञ्जालमा भट्टराई लक्षित प्रश्न उठेका छन्, ‘बाबुराम भट्टराई स्वास्थ्य उपचारकै लागि दिल्ली गएका हुन् कि राजनीतिक उपचारका लागि ?’

...डरलाग्दो हुनसक्छ 

पछिल्लो समय संसद् पुनर्स्थापनाको पक्षमा रहेका नेताहरूको भारत भ्रमण स्वास्थ्यभन्दा पनि राजनीतिक उपचारकै लागि हुनसक्ने परराष्ट्र मामिलाविज्ञ प्राध्यापक श्रीधर खत्री बताउँछन् । 

उनी भन्छन्, ‘अहिले देशभित्र उत्पन्न अस्थिरताले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा कमजोर बनाउँछ । तर, व्यक्तिगत लाभका लागि नेताहरूले ती शक्ति गुर्हान लागेको देखिन्छ । यस्तो अवस्थामा विदेशीले आफ्नो इच्छाअनुसार नेताहरूलाई प्रयोग गर्ने अवसर बढी पाउँछन् । हाम्रा नेताले आफ्नो राजनीतिक अस्तित्व जोगाउनका लागि सम्झौता गर्छन् जुन डरलाग्दो हुनसक्छ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि