प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ ।
प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले त्यससम्बन्धी विस्तृत विवरण शनिबार बिहान सार्वजनिक हुने बताएको छ ।
नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे जानकारी लिन उपाध्यक्ष सुमार बिहीबारदेखि नेपाल भ्रमणमा छिन् ।
सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आएकी उनले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन् । आजै उनले नेपाली काङ्ग्रेसका अन्य नेताहरूसँग पनि छलफल गरेकी छिन् ।
बिहीबार बिहान काठमाडौँमा आइपुगेकी उपाध्यक्ष सुमार दिनभर भेटघाटमा नै व्यस्त रहिन् । त्यसक्रममा उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गरिन् ।