जेठ ०८, २०८१, मंगलबार
               

काबुलबाट ४२ जना नेपालीको अझै भएन उद्धार

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । अफगानिस्तानबाट ११ जना नेपाली शुक्रबार काठमाडौं आउँदै छन् । तर, काबुलमै फसेका ४२ जना नेपालीको भने अझैसम्म पनि उद्धार हुन सकेको छैन ।

उनीहरूलाई बिहीबार नै काबुलबाट उद्धार गरिएको थियो । उनीहरू आज भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पनि विज्ञप्ति जारी गर्दै अफगानिस्तानबाट नेपालीहरूलाई उद्धार गरी स्वदेश ल्याउने क्रम जारी नै रहेको जनाएको छ ।

काबुलमा फसेका ४२ जना सबै एकै ठाउँमा रहेको परराष्ट्रले जनाएको छ । काबुल विमानस्थलमा बिहीबार ठूलो विस्फोट भएको थियो,  जसमा मारिनेको संख्या सय नाघिसकेको छ । तर, सबै नेपाली सुरक्षित रहेको परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ । 

उनीहरूसँग नियमित सञ्चार सम्पर्कमा रहेको तथा उनीहरूलाई उद्धार गरी स्वदेश फर्काउन विभिन्न देशका नियोगहरूसँग समन्वय गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।  

भारत, अमेरिका, बेलायतलगायत देशले विभिन्न उडान गरी अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार गरिरहेका छन् ।

नेपालले भने काबुल विमानस्थलमा आफ्नो विमान अवतरण गर्न अनुमति नपाएको भन्दै नेपालीको उद्धारका लागि अन्य देशसँग सहयोग लिइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि