जेठ ०५, २०८१, शनिबार
               

बाढीबाट १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ बेपत्ता : गृहमन्त्रालय

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । निरन्तर अविरल वर्षाको कारण देशभर बाढी र पहिरोबाट १३ वटा जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायत देशका विभन्न जिल्ला प्रभावित भएको जनाएको छ ।

बुधबार साँझसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आशिंक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ ।

वर्षा र बाढीका कारण सिन्धुपाल्चोकमा २ जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा १–१ जना गरी जम्मा ६ जनाको मृत्यु भएको छ। त्यस्तै बाजुरा, गोरखा, प्यूठान, अर्घखाँचीमा १–१ जना, जाजरकोटमा ७ जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

साथै,  सिन्धुपाल्चोकमा ६ जना र स्याङ्जामा पहिरोमा परी १ जना, डोटीमा २ जना र जुम्लामा २ जना समेत जम्मा ११ जना घाइते भएको बताइएको छ । त्यस्तै बाढी पहिरो प्रभावित जिल्ला सिन्धुपाल्चोकमा ४६ र दाङमा ४ जनालाई सकुशल उद्धार गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना बढी छ । बाढी, पहिरो र डुबानको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि