चैत १५, २०८०, बिहीबार
               

कोरोनाबाट कञ्चनपुरमा एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । ‘भर्खरै कोरोना संक्रमितको मृत्यु भएकोबारे खबर पाएको छु’, उनले भने, ‘अस्पताल जाँदैछु, त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’

मृत्यु भएका कोरोना संक्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो संक्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन् । मङ्गलबार मात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना संक्रमण देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि