जेठ ०६, २०८१, आइतबार
               

हाब्रे तस्करी : थप दुई पक्राउ

रासस
चैत १६, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । 

यसैबीच जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ बाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीयवासी २७ वर्षीय दिलकुमार राईलाई शनिबार जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शिकार खेल्न गएको भन्ने सूचनाका आधारमा वाकु प्रहरी चौकीका प्रहरी हबल्दार मनोजकुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।

उनको साथबाट प्रहरीले बन्दुकमा प्रयोग हुने २६ थान सलाई, १०० ग्राम बारुद, १५० ग्राम फलामको किटलगायतका सामग्री बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा भाग्न खोज्दा उनको दाहिने हातमा चोट लागेको छ । राईलाई उपचारका लागि आइतबार मिसन अस्पताल ओखलढुङ्गा पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि