बैशाख ०७, २०८१, शुक्रबार
               

उखुखेती छाड्दै किसान

रासस
पुस २३, २०७७

ADVERTISEMENT
विगत १५ वर्षदेखि उखुखेती गर्दै आएका जलेश्वरका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् । उखुको उधारो कारोवार र चिनी उद्योगीको भुक्तानी नदिने मनसायका कारण आजित भएका किसानले धमाधम उखुखेती मासिरहेका छन् । सिँचाइ सुविधा नभएका कतिपय ठाउँमा त खेत बाँझो नै राखिएको छ । 

महोत्तरी जिल्लाको भङ्गहा  नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गरेका थिए । तर यसपाली एक बिघामा मात्र उखुखेती गरेका छन् । 

मह तोले उत्पादन गरेको उखुको भुक्तानी हालसम्म नपाउदा उनले उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा रहेका छन् । विगत लामो समयदेखि उखुखेती गर्दै आएका महतो मात्र होइन, त्यहाँका अर्का किसान धनेसी महतोको पनि यस्तै पीडा छ । “ऋण काढेर उखुखेती गरिन्छ”, उनले भने, “उखु मिलले समयमा रकम भुक्तानी नदिँदा ऋणमा डुब्ने डरले यसपालीदेखि उखुखेती गर्न छोडिएको छ ।” 

नगदेबालीको उधारो कारोवारले आजित भएका यहाँका उखुखेती गर्ने किसानहरु भुक्तानीका लागि निकै सास्ती खानु परेकाले जिल्लाको उत्तरी भेग बर्दिबासदेखि सुदूरदक्षिणको जलेश्वरसम्म विगत १५ वर्षदेखि उखुखेती गर्दै आएका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् । 

चिनी उद्योगले किसानको उखु किन्दा समयमै रकम भुक्तानी नदिएकाले किसान वर्षौदेखि प्रताडित हुँदै आएका छन् । उधारोमा उखु बेच्न बाध्य रहेका किसानले आफ्नो भुक्तानी लिन प्रत्येक वर्ष उखु मिलमा धाउनुपर्ने बाध्यता रहेको छ । 

जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले उखु कटानको चलान पूर्जी दिन थालेको छ । तर मूल्य निर्धारण नहुँदै आफ्नो उत्पादन बुझाउनुपर्ने भए पनि भुक्तानी भने कहिले पाउने थाहा नभएकोले उखुको गुलियो उत्पादन अमिलो जस्तो भएको छ । महोत्तरी जिल्लामा मात्र नभएर प्रदेश नं २ को अधिकांश जिल्लाका किसानले विस्तारै उखुखेती छोड्दै गएका छन् । 

सरकारले विदेशबाट आयात भएर आउने चिनी नरोक्दा आफ्नो उत्पादन बजारसम्म पुग्न नसकेकाले आर्थिक अभावको कारण समयमा किसानलाई भुक्तानी दिन नसकिएको मिलका सञ्चालकले स्वीकारेका छन् ।

                                                  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि