मंसिर ०७, २०८१, शुक्रबार
               

संक्रमितको शव काँधमा उठाउँदै महिला

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

कोभिड १९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा संक्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालिमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ । टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुईवटा महिला समूह पनि सधैँ तयारीको अवस्थामा रहेका हुन्छन् ।

निर्देशन पाएको छोटो समयमै शुक्रबार महिला टोलीबाट दोस्रोपटक एकै दिन टेकु, छावनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नोबेल अस्पतालबाट चार शवको व्यवस्थापन भयो । एक टोलीमा हुद्दा कृष्णकुमारी, प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा छन् भने अर्काेमा प्यूठ रचना र रश्मी तथा सिपाही लीला ।

शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामानसमेत विसंक्रमण (डिसइन्फेक्ट) गरे । शवको बाहिरी तहमा विसंक्रमण गरेर अस्पतालबाट निकाली मृत शरीरलाई शव वाहनमा राखे । आवश्यक सुरक्षा सावधानीका साथ टोलीले शवलाई पशुपति आर्यघाटमा पुर्‍याए । आफन्त इष्टमित्रले हेर्न, छाम्न र श्रद्धासुमन दिन नपाएको शवलाई उनीहरूले सलामी दिन छुटाउदैनन् । पुष्पहार अर्पण गर्न चाहनेलाई स्वास्थ्य मापदण्ड पालना गराउँदै सुरक्षित स्थानबाट त्यो अवसर दिने गरिएको छ । नत्र सेना आफैँले परिवारको तर्फबाट फूल चढाइदिन्छ । सलामी अर्पण गरेपछि शवको दाहसंस्कार हुन्छ ।

गोरखकाली गुल्मकी सहायक गुल्मपति सहसेनानी रोशनी कार्कीका अनुसार यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको धार्मिक परम्पराअनुसार नै गराउने गरिएको छ । 

कोभिड १९ संक्रमणको सुरुवाती चरणमा मानिसहरू संक्रमितको घर वरपर जानै डराउँथे । गाउँ वरपर व्यवस्थापन गर्न अवरोध हुन्थ्यो । सरकारले जिम्मेवारी दिएपछि नेपाली सेना सुरुवाती चरणदेखि नै चुनौतीको सामना गर्दै शव व्यवस्थापनमा दिनरात खटिँदै आएको छ ।

सेनाकी हुद्दा कृष्णकुमारीको केही समय अघिको दैनिकी भने कार्यालय घेरामै सीमित थियो । जब कोभिड १९ को संक्रमणले चर्को रुप लिँदै गयो । उनलाई कार्यालय घेराबाट बाहिर निस्केर काम गर्नुपर्ने अवस्था आयो । इच्छा जागेर उहाँ कोरोना संक्रमणबाट प्राण त्यागेकाहरूको शव व्यवस्थापनमा खट्दै आएका छन् । उनका लागि त्यो राज्यप्रति वहन गर्नुपर्ने राष्ट्रसेवकको आकस्मिक दायित्व थियो । त्यो ठूलो अवसर हो तर परिस्थिति सहज थिएन ।

राष्ट्रको सुरक्षा गर्ने वाचा पूरा गर्नकै लागि कृष्णकुमारीले आममानिसले छुन नमिल्ने संक्रमितको शव काँधमा बोक्न हिच्किचाएनन् । कहिल्यै ननिम्तिएको संक्रमणको महामारी र अनि उपचारसमेत फेला नपरेको रोगबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्नु चानचुने कुरा होइन । सावधानी नअपनाउँदा आफैँ संक्रमणको शिकार हुने जोखिम उत्तिकै छ ।

शव व्यवस्थापन गरिसकेपछि सिधै घर वा कार्यालय जान पाइँदैन । तत्काल शरीरलाई नै डिसइन्फेक्ट गर्नु पर्ने उनी बताउछिन् । शव व्यवस्थापन गरेपछि त्यसका लागि लगाएका व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सेट विसंक्रमण (डिसइन्फेक्सन) का लागि छुट्टै भाँडोमा राखेर आवश्यक स्वास्थ्य सुरक्षा सावधानीका साथ क्वारेन्टिनमा जानुपर्छ । त्यसपछि अर्काे टोलीको शव व्यवस्थापनको पालो आउँछ । घर नगई महिला टोलीले शव व्यवस्थापनको काम गरिरहेको छ ।

दुबै समूहमा बसेर शव व्यवस्थापनमा खटिरहेकी कृष्णकुमारी त्यस कार्यमा निक्कै अनुभवी छन् । यसअघिको पहिलो समूहमा कृष्णकुमारीसहित प्यूठ रचना तथा रश्मी र सिपाही लीला सहभागी भएका थिए । त्यो बेला ओम र शिक्षण अस्पताललगायतबाट ६ वटा शव व्यवस्थापन गरिएको थियो ।

गोरखकाली गुल्म नेपाली सेनाको पहिलो महिला गुल्म हो । यहाँ १७८ महिला सैनिक छन् । गुल्मका उपसेनानी सीताको नेतृत्वमा टोली परिचालन हुन्छन् । महिला मलामी जानुहुन्न भन्ने परम्परागत मान्यतालाई चिर्दै सङ्कटको घडीमा मानवीय कार्यमा महिला सैनिक स्वेच्छाले खटेको सहायक गुल्मपति कार्की सुनाउछिन् ।

 शव उठाउन टोली पालैपालो खटिन्छन् । एक दिन शव व्यवस्थापन भएपछि त्यो टोलीका सबै सदस्य क्वारेन्टाइनमा बस्छन् । मापदण्ड पूरा गरी रिपोर्ट नेगेटिभ आएपछि पुनः परिचालित हुन्छन् । टोली उपत्यका पृतनामा रहेको कोभिड डेस्कको निर्देशनमा परिचालन गरिन्छ । प्लाष्टिकसहित तीन तहमा ढाकेर राखिएका शवलाई मुचुल्का गरी उठाएर बाहनमा राख्ने र समाधिस्थलमा पुर्‍याएर सद्गत गर्नेसम्मको जिम्मेवारी सेनाको जिम्मामा छ ।

मुलुकभर गरेर नेपाली सेनाले झण्डै तीन हजार व्यक्तिको शव व्यवस्थापन गरिसकेको छ । सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्छन्– “राष्ट्रलाई आइपरेको सङ्कटको अवस्थामा हामीले आफ्नो दायित्व निर्वाह गरेका हौँ । सेनाले जोखिमका बीच काम गरिरहेको छ ।” 

आफन्तहरूलाई मृतकको अनुहार हेर्न दिइएन भन्ने गुनासोबारे सैनिक प्रवक्ता पौडेल भने– “प्लाष्टिकसहित तीन तहमा शवलाई बाँधेर राखिएको हुन्छ । सेनाले शव खोल्ने पनि होइन, बाँध्ने पनि होइन, मात्र व्यवस्थापन गर्ने हो ।” शव खोल्ने दक्ष जनशक्ति पनि सेनामा नभएकाले अस्पतालमै आवश्यक समन्वय गर्न सम्बन्धित परिवारसँग उनले अनुरोध गरे । घरमा पृथक्वास (आइसोलेसन) मा रहेका बेला मृत्यु भएकाको हकमा भने त्यो समस्या छैन । 


कस्तो लाग्यो ?

यो पनि