जेठ ०५, २०८१, शनिबार
               

उमेर नपुगेका किशोरीसँग विवाह गर्ने दुई बेहुलासहित जन्तीहरु जग्गेबाटै पक्राउ

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

सिन्धुली । उमेर नपुगेका किशोरीसँग विवाह गर्न लागेका दुई बेहुलासहित उनीहरुका केही आफन्तलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय खुर्कोटले बेहुला बेहुलीसहितका जन्तीहरुलाई शुक्रबार जग्गेबाटै पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक शान्ता वाइवाका अनुसार, सुनकोशी गाउँपालिका ४ भोर्लेनीकी १५ वर्षीया किशोरीसँग विवाह गर्ने २५ वर्षीय युवकसहित १० जना जन्तीलाई जग्गे (बेहुलीको घर) बाटै नियन्त्रणमा लिइएको हो । 

त्यसैगरी सुनकोशी ३ मझुवाबेसीकी १७ वर्षीया किशोरीसँग विवाह गर्ने २२ वर्षीय युवकसहित उनीहरुका आफन्तहरु पनि जग्गेबाटै पक्राउ परेका छन् ।

दुई जग्गेबाट बेहुला बेहुलीसहित १४ जनालाई नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीले जनाएको छ । 

जग्गेस्थलमा प्रहरी आएपछि विवाहमा सहभागी भएका मानिसहरुको भागाभाग भएको थियो । त्यस क्रममा पुरेत (पण्डित) र अन्य सहभागी भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरुमाथि कानुनी कारबाही अघि बढाइएको बताइएको छ ।

भोर्लेनीकी १५ वर्षीया किशोरीले २५ वर्षीय युवकसँग प्रेम विवाह गरेको प्रहरी अुनसन्धानबाट खुलेको छ । युवक र किशोरी दुबै तामाङ समुदायका हुन् । 

मझुवाबेसीकी १७ वर्षीया किशोरीसँग विवाह गर्ने युवक महोत्तरी बर्दिबासका भएको प्रहरीले जनाएको छ । उनीहरुको मागी विवाह हो ।

दुबै पीडित किशोरीलाई हाल जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको छ । उनीहरुलाई महिला बालबालिका सेवा केन्द्रमा राखेर केही दिनको परामर्शपछि छाडिदिने प्रहरीले जनाएको छ ।

त्यसैगरी दुबै बेहुला, उनीहरुका आमाबुवा, आफन्तसहित जन्तीमा सहभागीहरुलाई भने म्याद थप गरेर कारबाही प्रक्रिाय अघि बढाइने भएको छ ।

नेपालको मुलुकी अपराध संहिताले २० वर्ष उमेर नपुगेका केटाकेटीलाई विवाह गर्न निषेध गरेको छ । उमेर नपुगी विवाह गरे कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि