गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार यही मंसिर ७ गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको छ । सोअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखाका एसएसपी अशोक सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुखमा सरुवा गरिएको छ । उक्त स्थानमा परिसरका प्रमुख श्यामलाल ज्ञवालीलाई ल्याइएको छ ।
एसएसपी किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । प्रहरी प्रवक्ता कुबेर कडायतलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासी सरुवा गरिएको छ । त्यहाँ हाल कार्यरत वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।
प्रहरी प्रधान कार्यालय तालिम महाशाखाका जनक भट्टराईलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा गरिएको छ भने महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखामा पठाइएको छ । ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय कार्यविभाग कार्य महाशाखामा ल्याइएकाे छ ।