असोज ०६, २०८१, आइतबार
               

बाँकेमा तीनजना सहित थप चार संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौ । बाँकेमा उपचाररत तीन संक्रमितसहित थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई, दाङका एक र चितवनका एक जना छन् ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो । उनमा सोही दिन साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका- ८ का ३५ वर्षीय पुरुषको पनि वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नीको उपचारका लागि कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनमा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार राति ८:१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको पनि भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उनको राति साढे ९ बजे मृत्यु भएको हो । उनमा कोरोनाको पुष्टि भने राति १० बजे मात्रै भएको श्रेष्ठले बताए ।

यस्तै चितवनमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ । नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर- १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

आइसीयूमा राखेर उपचाररत उनको राति ९:५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि