बैशाख ०८, २०८१, शनिबार
               

घरमै रहेका कोरोना सङ्क्रमितले पाएनन् अक्सिजन
श्वासप्रश्वास समस्या निको हुनासाथ तुरुन्त सिलिन्डर फिर्ता गर्न आग्रह

श्यामसुन्दर पुडासैनी
कात्तिक ०२, २०७७

ADVERTISEMENT

शनिबार काठमाडौं हाँडीगाउँका लक्ष्मण शर्मा मेडिकल अक्सिजन लिनका लागि चाबहिलस्थित ओम अस्पतालपछाडि डिलरमा गए । तर, अभाव भएको भन्दै डिलरवालाले उनलाई सिलिन्डर दिन मानेनन् ।  डिलरमा केही थान ठुला र साना मेडिकल अक्सिजन भए पनि डिलरवालाले उनलाई यी त पुराना ग्राहकका लागि स्टक भएको भन्दै दिएनन् । 

होम आइसोलेनमा रहेकी एक कोरोना संक्रमित महिलामा श्वासप्रश्वास बढेपछि शर्मा मेडिकल अक्सिजन किन्न सो डिलर गरेका थिए । डिलरवालाले अक्सिजन नदिएपछि उनी अक्सिजनका लागि अनेकौँ डिलर चाहरिरहँदा उता संक्रमित महिलामा जोखिम थपिँदै गइरहेको थियो ।

चाबहिलमै तीनवटा मेडिकल अक्सिजन डिलरले पनि उस्तै समस्या बताए । ग्राहकले घरमा लगेका अक्सिजनका सिलिन्डर समयमै फिर्ता नल्याएका कारण सिलिन्डर अभाव भएको उनीहरुको भनाइ थियो । शर्माले बल्लतल्ल सिफलको एक मेडिकल अक्सिजन डिलरमा एउटा सिलिन्डर अक्सिजन किन्न पाए ।

सोही समयमा डिल्लीबजारमा बस्ने नेपाली सेनाका अवकाश प्राप्त एक रथि पनि मेडिकल अक्सिजन खोज्दै सिफलस्थित डिलरमा पुगेका थिए । उनी पनि अनामनगर, पुरानो बानेश्वरलगायत धेरै डिलरमा मेडिकल अक्सिजनकै लागि चाहरिसकेका रहेछन् । कतै नपाएपछि उनी सिफल पुगेका रहेछन् । 

‘धेरै ठाउँमा खोजे, कतै पाइन, एक सिलिन्डर त दिनुहोस्, बरु म तोकिएभन्दा बढी पैसा दिर्न तयार छु’ नेपाली सेनाका पूर्वरथि भन्दै थिए । तर, डिलरवालाले केही गरे पनि आफूसँग नभएको भन्दै उनलाई फिर्ता पठाइदिए । घरमा रहेका कोरोना सङ्क्रमित बिरामीको अवस्था जटिल रहेको बेथा उनी सुनाउँदै थिए । त्यहाँ मेडिकल अक्सिजन नपाएपछि अन्त पाइन्छ कि भन्दै उनी हतारिँदै बाहिरिए ।

सरकार भन्छ, घरमै बस्नु, तर खै अक्सिजन ?

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण दर दैनिक सरदर पच्चीस सय हाराहारी छ । सङ्क्रमण दर बढेपछि अस्पतालहरूका बेड भरिएका छन् । कतिपयले बिरामी भर्ना लिनै मानिरहेका छैनन् । कतिले अब कोरोना बिरामी भर्ना गर्ने ठाउँ छैन भनिरहेका छन् । बिरामी भर्ना नलिएपछि धेरै सङ्क्रमित घरमै छन् ।

कोरोना सङ्क्रमणको मुख्य असर श्वासप्रश्वास प्रणालीमा हो । यसकारण सङ्क्रमितलाई जतिबेला पनि अक्सिजन चाहिन सक्छ । लक्षण देखिएका कोरोना सङ्क्रमित व्यक्ति होमआइसोलेसनमा बस्दा  सिलिन्डर राख्नैपर्छ । किनकि जतिबेला पनि श्वासप्रश्वास समस्या देखिन सक्छ ।

बजारमा दुईखालका अक्सिजन सिलिन्डर पाइन्छन् । एउटा ठुलो र अर्को सानो । सानो आकारको अक्सिजन १० लिटर र ठुलो ४७ लिटर क्षमताको हुन्छ।  सानोले करिब १२ घण्टासम्म अक्सिजन दिन्छ। ठुलो सिलिन्डरले ४८ घण्टासम्म दिन्छ । यी दुवैखाले सिलिन्डरको अलग अलग मूल्य छ ।

सानो सिलिन्डरको मूल्य ७ हजार २ सय ५० रुपैयाँ हो । ठुलो सिलिन्डरको १२ हजार ६ सय पर्छ । हुन त ग्यास आफैँमा त्यति महँगो होइन, तर सिलिन्डरको समेत धरौटी राख्नुपर्ने हुँदा बढी तिर्नुपर्ने हुन्छ ।

अहिले अस्पतालहरूमा अक्सिजन बढी खपत छैन । धेरैजसोले घरघरमै अक्सिजन लगेका छन् । अस्पतालहरूमा बिरामी भरिएकाले मानिसहरू होमआइसोलेसनमै बढी बसिरहेका छन् । घरका लागि विशेषगरी सानो आकारको अक्सिजन लैजाने गरिन्छ। बोक्न सजिलो र हलुङ्गो हुने हुँदा सानो अक्सिजन सिलिन्डर घरमा बढी प्रयोग हुन्छ । यसकारण बजारमा सानो साइजको अक्सिजन सिलिण्डको अभाव देखिएको छ । विगतमा दैनिक १५–२० वटा सिलिन्डर मात्रै बिक्री हुने अक्सिजन डिलरबाट अहिले दैनिक एक सय देखी डेडसय वटा सिलिन्डर बिक्री हुँदै आएको छ  ।

केही सातायता कोरोना (कोभिड १९) सङ्क्रमण भएर गम्भीर लक्षण देखिएका र सिकिस्त बिरामीहरूको सङ्ख्या बढ्न थालेपछि मेडिकल अक्सिजनको अभाव देखिएको हो । सरकारी अधिकारीहरू र नेपालका मेडिकल अक्सिजन उत्पादकहरूले अहिलेको अवस्थामा ‘अक्सिजनको अभाव नभइहाल्ने’ दाबी गर्दै आएपनि सर्वसाधारण मेडिकल अक्सिजन पाउन भौतारिरहेका भेटिन्छन् ।

सरकारी अधिकारीहरुका नेपालका ‘कतिपय अस्पतालहरूमा त्यही अक्सिजन उत्पादन हुने प्लान्टहरू रहेको तथा त्यस्तो सुविधा नभएका अस्पतालका लागि पनि पर्याप्त सिलिन्डर उत्पादन भइरहेको छ । तर अस्पताल बाहिरका बिरामीको लागि भने अक्सिजनसम्मको पहुँच गाह्रो बनेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले नेपालमा अक्सिजनको अभाव हुने अवस्था छैन । तर, डिलरहरु भने ग्राहकहरुले लगेको सिलिन्डर समयमै फिर्ता नल्याउँदा सिलिन्डर अभाव भएको छ । उनीहरु भन्छन्, ‘ सिलिन्डरको काम सकिएपछि फिर्ता नल्याउँदा नयाँ ग्यास भर्न दिन सकिँदैन, सीमित मात्र सिलिन्डर हामीकहाँ स्टक रहँदा धेरैले लैजान पाउँदैनन् ।’ 

बिरामीको श्वासप्रश्वास समस्या निको भएपछि, अक्सिजन दिन नपर्ने भएपछि सिलिन्डर फिर्ता ल्याइदिन र आवश्यक परेमा मात्र पुन सिलिन्डर लैजान डिरहरुले आग्रह गरेका छन् ।

 

अस्पतालले स्टक राख्छन्,  घरमै हुने बिरामी समस्या पर्छन् 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘अहिलेको जस्तो अवस्थामा अक्सिजनले पुग्ने नै देखिन्छ, अहिलेको हकमा सबै अस्पतालमा अक्सिजन प्लान्ट नभए पनि सिलिन्डरबाट अक्सिजन आपूर्ति भइरहेको छ, तर धेरैले काम सकिएपछि पनि सिलिन्डर घरमै राखिदिने समस्याले नयाँ रिफिल गर्न नपाइएको हो ।’

सास फेर्न समस्या भएका बिरामीको सङ्ख्या धेरै बढे समस्या पर्न सक्ने भएकाले मन्त्रालयले अस्पतालहरूलाई पहिले नै अक्सिजनको व्यवस्था गर्न निर्देशन दिइसकेको उनले बताए । तर घरमै रहेका बिरामीको समस्यामा भने मन्त्रालय मौन छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशका ४५ भन्दा बढी अस्पतालमा अक्सिजन प्लान्ट र त्यत्तिकै संख्यामा अक्सिजन कन्सन्ट्रेटर छन् । तर, कन्सन्ट्रेटरबाट अक्सिजन बनाउने कुरामा धेरै भर पर्नु नहुने कतिपय चिकित्सकले बताउने गरेका छन् । अहिलेको अवस्थामा नेपालमा पनि करिब २० प्रतिशत बिरामीलाई कुनै पनि बेला अक्सिजन दिनुपर्ने हुनसक्ने देखिएको केही चिकित्सकको भनाइ छ । त्यसमा पनि कोरोना सङ्क्रमित धेरै बिरामीलाई अक्सिजन दिनुपर्ने देखिएको ।

 

लक्षण देखिएका बिरामीलाई जतिबेला पनि अक्सिजन चाहिन सक्छ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला भन्छन्, ‘लक्षण देखिएका २० प्रतिशतमध्ये १५ प्रतिशतलाई अक्सिजन आवश्यक पर्न सक्छ र पाँच प्रतिशतलाई आइसियु र भेन्टिलेटरमै राख्नुपर्ने हुनसक्छ ।’ 

त्यस हिसाबले अक्सिजन कोभिड-१९ का बिरामीलाई अत्यावश्यक नै हुन्छ । अहिलेको अवस्था हेर्दा कतिपय सङ्क्रमितले अस्पतालमा बेड नै नपाउने अवस्था छ । धेरै सङ्क्रमित घरमै छन् ।

उनीहरूका लागि पनि अक्सिजन चाहिन्छ । ती सङ्क्रमितका लागि अक्सिजन अभाव हुने भन्दा पनि घरमै आइसोलेसनमा बसेका सङ्क्रमितहरूले चाहिएका बेला अक्सिजन नपाउन सक्ने चुनौती देखिएको विज्ञहरू बताउँछन् । त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरू बताउँछन् ।

कसलाई चाहिन्छ अक्सिजन ?

कोरोना भाइरस सङ्क्रमण भएर गम्भीर लक्षण देखिएका बिरामीमा श्वासप्रश्वासको समस्या देखिन्छ। तिनलाई सघन उपचार र अक्सिजन आवश्यक पर्न सक्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हजारभन्दा बढी बिरामी सघन उपचारकक्षमा छन् । तीमध्ये वाग्मती प्रदेशमा एक सय बढी भेन्टिलेटरमा छन् ।भेन्टिलेटरका राखिएका बिरामीलाई कृत्रिम श्वासप्रश्वास गराइन्छ अर्थात् अक्सिजन दिइन्छ भने अरू बिरामीलाई पनि जुनसुकै बेला अक्सिजन आवश्यक पर्न सक्छ ।

त्यसबाहेक लक्षण देखिएका कतिपय अन्य बिरामीलाई सास फेर्न गाह्रो भए अक्सिजन दिनुपर्छ । लक्षण देखिएर घरमै रहेका धेरै बिरामीलाई श्वास फेर्न गाह्रो भएको बताइएको छ । अस्पतालमा भन्दा होमआइसोलेसनमै धेरै अक्सिजनको माग भइरहेको छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि