बैशाख १५, २०८१, शनिबार
               

दशैँअघि नै उखुको अनुदान रकम भुक्तानी माग

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

सर्लाही । जिल्लाका उखु किसानले सरकारले पठाएको अनुदान रकम दशैंअघि नै भुक्तानी गर्न माग गरेका छन् । गत वर्ष जिल्लाका उखु उत्पादक किसानले पाउनुपर्ने सरकारी अनुदानको रकम केही दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवामा आइसकेको छ । 

जिल्लाका उखु उत्पादक किसानका लागि २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिए ।  ४४ लाख ४३ हजार ६५ अर्थात २.५ प्रतिशत कम बजेट निकासा आएको कार्यालय प्रमुख थपलियाले बताए ।

सर्लाहीका उखु किसानका लागि २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो । अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भुक्तानी गर्न माग गर्दै सर्लाहीका उखु उत्पादक किसानहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र समेत बुझाएका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

जिल्लाका चिनी उद्योगमा छिमेकी जिल्लाका उखु उत्पादक किसानहरुले पनि उखु बिक्री गरेकाले अहिले आइसकेको रकम यहाँका किसानलाई वितरण गर्न र बाँकी किसानलाई थप रकम निकासा भएपछि वितरण गर्न आग्रह गरिएको अध्यक्ष मैनालीले बताए ।

दशैंमा किनमेल गर्नुपर्ने भएकाले किसानलाई तत्कालै अनुदान रकम खातामा पठाइदिन आग्रह गर्दै उखु उत्पादक महासङ्घका अध्यक्ष मैनाली, अगुवा उखु किसान राजकुमार उप्रेतीलगायतले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् ।

अघिल्ला वर्षहरूमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भए पनि यसवर्ष भने कोलेनिकाले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था रहेको कोलेनिका प्रमुख थपलियाले बताए ।


कस्तो लाग्यो ?

यो पनि