जेठ ०३, २०८१, बिहीबार
               

काठमाडौंका अस्पतालमा बिरामी भरिए, भक्तपुरमा वार्ड रित्तै

रासस
असोज २२, २०७७

ADVERTISEMENT

भक्तपुर । कोरोनाको हटस्पट बनेको काठमाडौंस्थित तीनवटा सरकारी कोभिड विशेषसहित अन्य अस्पताल संक्रमितले भरिएका छन् ।

बुधबार गरिएको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले काठमाडौंका सबै अस्पताल भरिएकाले अब कोरोनाको गम्भीर लक्षण देखिए मात्रै अस्पताल आउन आग्रह गरेका थिए। काठमाडौंस्थित टेकु, वीर र बलम्बु अस्पताल कोभिडका बिरामीले भरिएका छन् ।

अर्कातिर ललितपुरको पाटन अस्पतालमा पनि कोभिडका बिरामीको चाप छ । त्यस्तै शिक्षण, कान्तिपुरसहितका अस्पतालमा पनि संक्रमितको चाप छ । काठमाडौं र ललितपुरमा कोरोना संक्रमितले अस्पताल भरिँदा भक्तपुरको दृश्य भने अर्कै छ । काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र आइसोलेसन वार्ड अभाव भएको बताइरहँदा भक्तपुरमा भने पर्याप्त मात्रामा खाली छन् ।

जिल्लाका विभिन्न अस्पतालले व्यवस्था गरेका २० आईसीयू शय्यामध्ये आजसम्म १५ शय्या खाली छन् भने १२ वटा भेन्टिलेटर सबै खाली छन्।  भक्तपुर अस्पतालमा पाँच, केएमसी अस्पताल दुवाकोटमा सात र नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा आठ शय्या आइसियू कोभिड–१९को उपचारका लागि छुट्याइएको छ ।  

तीमध्ये भक्तपुर अस्पतालका आईसीयू मात्र भरिएका छन् । यहाँ चार पुरुष र एक महिलाको आइसियूमा उपचार भइरहेको छ । अन्य दुई अस्पतालमा आइसियू पूर्णरुपमा खाली रहेका स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए । यस्तै, भक्तपुरका विभिन्न अस्पतालका आइसोलेसन वार्डसमेत खाली रहेका छन् ।

जिल्लाको कोभिड अस्पतालका १५ मध्ये दुई आइसोलेसन वार्ड खाली छन् ।  यहाँ आठ पुरुष र पाँच महिला उपचार गराइरहेका छन् । मध्यपुर अस्पतालमा १० शय्या आइसोलेसन छन् । यहाँ दुई महिला उपचार गराइरहेका छन् । केएमसी अस्पतालका १०० शय्यामध्ये ८५ शय्या खाली छन् । यहाँ १० पुरुष र पाँच महिला उपचार गराइरहेका छन् ।

इवामुरा अस्पतालका चार, नागरिक अस्पतालका तीन, सिद्धि स्मृति अस्पतालको एक, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका नौ, बीपी आँखा अस्पतालको एक, जनस्वास्थ्य केन्द्रका दुई, समिट अस्पतालका १०, आरोग्य अस्पतालको चार र क्यान्सर अस्पतालका छ आइसोलेसन वार्डसमेत खाली रहेका प्रमुख मिजारले जानकारी दिए ।

संस्थागत आइसोलेसन केन्द्रसमेत पर्याप्त मात्रामा खाली छन् । जिल्लामा सात संस्थागत आइसोलेसनमा ७०३ वार्ड छन् । तीमध्ये ३४४ मात्र उपयोग भएका छन् । नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरिपाटी आइसोलेसन केन्द्रमा २०० वार्ड छन् । यहाँ ३६ पुरुष र छ महिला गरी ४२ जना उपचार गराइरहेका छन् ।  

खानेपानी कार्यालयको तेलकोटस्थित तालीम केन्द्रमा २३ आइसोलेसन वार्ड सबै खाली छन्। कृषि विकास बैंकको तालीम केन्द्र बोडेको ५० आइसोलेसन वार्डमध्ये १२ वटा खाली छन्। यहाँ २७ पुरुष र ११ महिला गरी ३८ सङ्क्रमित उपचार गराइरहेका छन् ।  सैनिक विद्यालय सल्लाघारीका १५० आइसोलेसन वार्डमध्ये ४५ खाली छन् । यहाँ ८८ पुरुष र १७ महिला उपचार गराइरहेका छन् ।

सूर्यविनायक ब्यारेकका ७५ वार्डमा ५२ पुरुष उपचार गराइरहेका छन् भने २३ वटा खाली छन् । त्यस्तै सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३० आइसोलेसन वार्ड छन् । यहाँ ७८ पुरुष उपचार गराइरहेका छन् ।

बाँकी ५२ वार्ड खाली छन् । भक्तपुर नगरपालिकाले हालै सञ्चालनमा ल्याएको ब्रम्हायणी आइसोलेसन केन्द्रका ७५ वार्डमध्ये ४६ खाली छन् । यहाँ १५ महिला र १४ पुरुषगरी २९ कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि